थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार

थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार

कहिरन समाचार

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार भएका छन् । आइतबार राति करिब २ बजेदेखि ४ बजे समयको बीचमा अभियुक्तहरू थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएका हुन् ।

जीर्ण तथा पुरानो भवनमा रहेको थुनुवा कक्षको पर्खाल भत्काएर लागु औषधमा पक्राउ परेका १ जना, हातहतियारमा पक्राउ परेका २ जना तथा अभद्र व्यवहारमा पक्राउ परेका ३ जना फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाको डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार लागु औषधमा पक्राउ परका क्षिरेश्वरनाथ नगरपालिका ५ का विनोद कुमार शर्मा, हातहतियारमा पक्राउ परेका मिथिला नगरपालिका ६ का रोशन साह र शंकर साह तथा अभद्र व्यवहारमा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल, रोशन मण्डल र मिथिला नगरपालिका २ का हरिदेव सिंह फरार भएका छन् ।

अभियुक्तहरू फरार भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बेचन यादव उपर आवश्यक अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । उनले भवनको पर्खाल कमजोर भएकै कारण भत्काएर उनीहरू फरार भएको हुनसक्ने बताए । उनीहरूको खोजबिन तीव्र गतिमा भइरहेको उनले जनाए ।