डाक्टरलाई कुट्ने तीन जना पक्राउ

डाक्टरलाई कुट्ने तीन जना पक्राउ

कहिरन समाचार

आफ्नो १८ दिनकी नवजात छोरी अचानक बिरामी भएपछि बुबा दीलिप मुखिया र आमा उमा मुखियाले बुधबार बिहानै विराटनगरस्थित कोशी अस्पताल पुर्‍याए।पेशाले एम्बुलेन्स चालक दीलिपले छोरी लिएर अस्पतालको आकस्मिक कक्षमा पुग्दा डाक्टर आकाश यादव ड्युटीमा थिए। मेडिकल अफिसर यादवको साथमा अहेवहरू लक्ष्मण माझी र टीका भण्डारी पनि थिए।

डाक्टर आकाशले शिशुको स्वास्थ्य परीक्षण गर्न थाले। केहीबेरको जाँचपछि उनले दीलिपलाई नजिकै बोलाएर भनिदिए- तपाईंको छोरीको सास छैन। अब घर लैजानुस्।

चिकित्सकले यस्तो भनेको सुनेपछि अस्पतालमा भएका मुखियाका आफन्तको रूवाबासी चल्यो। सुत्केरी श्रीमती उमा विह्वल बनेर रून थालेपछि दीलिप उनलाई सम्हाल्न थाले। त्यहीबीचमा उनकी जेठानी दिदीले भित्र पसेर शिशुलाई बोकेर बाहिर ल्याइन्। जेठानी दिदीले बोकेकै बेला शिशुले हात र खुट्टा चलाइन्।

‘डाक्टरले सास छैन भनेर मृत घोषणा गरेकी छोरी ज्यूँदैरहि छिन्’ दिलिपले भने, ‘१८ दिनकी छोरीलाई सास छैन भनेर डाक्टरले हामीलाई अत्याइदिए। यस्तो गर्नेलाई कारबाही हुनुपर्छ।’

अहिले दिलिपले छोरीको उपचारको लागि कोशी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गर्दैछन्। छोरीलाई अहिले एनआइसियूमा राखेर उपचार सुरू गरिएको छ। ‘अहिले गोल्डेनमा हस्पिटलमा राखेर छोरीको उपचार सुरू गरेको छु,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ।’

श्वासप्रश्वासमा समस्या भएर अस्पताल पुर्‍याएकी उनको सास छैन भनेपछि आफन्तले घर लैजान बाहिर निकालेका थिए।

मोरङको जहदा गाउँपालिका–३ भात्तिगन्जकी उमा मुखियाले कोशी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन्।

‘नर्मल डेलिभरी’ मार्फत जन्मेकी  शिशुको तौल १ किलो चार सय ग्राम थियो। हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइएको थियो।

उपचारमा लापरवाही गरेको र  जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै कोशी अस्पतालको आकस्मिक कक्षका डाक्टर आकाश यादवमाथि कुटपिटसमेत भएको छ। शिशुका आफन्तहरुले यादवलाई कुटपिट गरेका हुन्। कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोट लागेको छ।

चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दीलिप मुखियाले बताए। कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।

कोशी अस्पतालका प्रमुख  डाक्टर लक्ष्मीनारयण यादवले घटना विषयमा बुझने काम भइरहेको बताए।

‘नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्कन थिएन। सास पनि चलेको थिएन भनेर उपचारमा संलग्न चिकित्सकले भनेका छन्। त्यस विषयमा बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापरबाही भएको पाइए  हस्पिटलले एक्सन लिनेछ।’