हिमाली जिल्लामा मतपेटिका सङ्कलनका लागि अझै पुगेन हेलिकप्टर

हिमाली जिल्लामा मतपेटिका सङ्कलनका लागि अझै पुगेन हेलिकप्टर

कहिरन समाचार

कर्णालीका हिमाली जिल्लाहरूमा आइतबार मतदान सम्पन्न भए पनि भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलन हुन् सकिरहेको छैन ।  सडक सञ्जाल नजोडिएको र हेलिकप्टरबाट सङ्कलन गर्नुपर्ने भएकाले अझै पनि मतपेटिका सम्बन्धित क्षेत्रमा ल्याउन नसकिएको हो ।

विशेष गरी हुम्ला र डोल्पाका अधिकांश ठाउँको मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने अवस्था छ । हुम्लाका प्रमुख निर्वाचन अधिकारी श्याम रानाले अहिलेसम्म हेलिकोप्टर नै जिल्लामा नपुगेको जानकारी दिए । उनका अनुसार जिल्लाका नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चङ्खेली, ताँजाकोट अदानचुलीमा मतदान केन्द्रहरूका मतपेटिका आएका छैनन् ।

‘हेलिकप्टरबाट ल्याउनुपर्ने भएकाले अहिलेसम्म हेलिकप्टर हुम्ला पुगेको छैन,’उनले भने,‘ सुर्खेतबाट अहिले आउने भन्ने कुरा छ आएको खण्डमा आज सबै ठाउँको मतपेटिका ल्याउने काम हुन्छ र सम्भवतः भोलिसम्म मतगणना हुन्छ होला ।’

यस्तै डोल्पाका पनि सोही समस्या हो । हेलिकप्टरबाट छार्काताङ्सोङ से–फोक्सुन्डो, डोल्पोबुद्ध गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका ल्याउनुपर्ने भए पनि अहिलेसम्म त्यहाँ हेलिकोप्टर पुग्न सकिरहेको छैन ।

डोल्पाका प्रमुख निर्वाचन अधिकारी रामबहादुर शाक्यका अनुसार सुर्खेतबाट हेलिकप्टर आए पनि मतपेटिका ल्याउने भन्ने कुरा छ । उनले पनि मंगलबारदेखिनै मतगणना सुरु हुने आँकलन गरे ।

यता मुगुमा २ दिनको बाटो हिँडेर मतपेटिका ल्याउने कार्य भइरहेको छ । मुगुका प्रमुख निर्वाचन अधिकारी विष्णु न्यौपाने जिल्लाका ग्रामीण क्षेत्रमा सडक नपुगेको र मतपेटिका बोकेर ल्याउनुपर्ने भएकाले २ दिन अझै लाग्ने बताए । ‘गाउँबाट दुई तीन दिनको बाटो छ । हेलिकप्टरबाट ल्याउने भनिए पनि अन्तिममा बोकेर पैदल यात्राबाट ल्याउनुपर्ने बाध्यता छ,’उनले भने,‘ खत्याड गाउँपालिका वडा नम्बर १० र ११ सोरु गाउँपालिकाका ९,१० र ११ वडाहरूमा गाडी चल्दैन ।’

उनका अनुसार छायानाथ रारा नगरपालिका बाहेकका अन्य कुनै पनि मतदान केन्द्रहरूको मतपेटिका आउन सकिरहेको छैन ।