डेंगीबाट एक महिलाको मृत्यु

डेंगीबाट एक महिलाको मृत्यु

कहिरन समाचार

दाङमा डेंगीबाट एक महिलाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ४० वर्षीया  मायाकुमारी बिसीको  उपचारका क्रममा सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार डेंगी संक्रमित बिसी सोमबार बिहान करिब ८ बजेतिर उपचारका लागि प्रतिष्ठानमा आएकी थिइन्। उनी भर्ना भएको डेढ घन्टाभित्रै बिहान १० बजेतिर मृत्यु भएको भट्टराईले बताए।

त्यसअघि बिसीको ल्याब टेष्ट गर्दा डेंगी पोजेटिभ देखिएको थियो। उपचारको क्रममा एकाएक अक्सिजन लेबल घटेको र प्रेसर बढेपछि  मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

पछिल्लो समय जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दै गएको छ।  प्रतिष्ठान प्रशासनले दैनिक ५ जनासम्म डेंगी पोजेटिभका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिएको छ।