प्रहरीले झन्डै ३०० लिटर अवैध घरेलु मदिरा नष्ट

प्रहरीले झन्डै ३०० लिटर अवैध घरेलु मदिरा नष्ट

कहिरन

रौतहट स्थित प्रहरीले झन्डै ३०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय गौरको हाताभित्र सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले सोमबार साँझ दुई सय ९० लिटर घरेलु मदिरा नष्ट गरेको हो।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा स्थानीय यमुनामाई गाउँपालिका  ४ स्थित प्रहरीले उक्त अवैध घरेलु मदिरा  अन्दाजी २९० लिटर सोमबार बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

पछिल्लो समय चन्द्रपुर नगरक्षेत्र अन्तर्गत विभिन्न टोलमा उत्पादित अवैध घरेलु मदिरा महिला व्यवसायीहरूले यात्रुवाहक सवारी साधनमा लुकाई छिपाई सदरमुकाम गौरसम्म पुर्‍याउने गर्दछन्।  बिहार सरकारले मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएपछि  सीमासँग जोडिएको बजारमा दैनिक मदिरा सेवन गर्न आउनेजाने गर्दछन्।