अपहरणमा परेका बालकलाई सकुशल उद्धार, तीन जना पक्राउ

अपहरणमा परेका बालकलाई सकुशल उद्धार, तीन जना पक्राउ

कहिरन

अपहरणमा परेका १० वर्षीय बालकलाई सकुशल उद्धार गर्दै मोरङ प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

मोरङ जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरालाई अपहरण गरेको आरोपमा बुधबार  प्रहरीले जहदा– १ का २० वर्षे अभिषेक यादव, १९ वर्षे मिथिलेशकुमार यादव र विराटनगर–१८ का २१ वर्षे विवेकानन्द यादवलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

डिएसपी दाहालका अनुसार बुधबार दिउँसो दुई बजेतिर घर नजिकैको चउरमा खेलिरहेका बालकलाई अपहरणकारीले ‘स्कुलमा फोटो खिच्नु छ’ भन्दै साइकलमा राखेर विराटनगरतर्फ लगेका थिए।

‘बेलैमा प्रहरीले खबर पाएपछि केहीबेरमै बालकको उद्धार भयो’, डिएसपी दाहालले भने ‘घटनामा संलग्न तीन जनालाई पक्राउसमेत गरियो।’

प्रहरीका अनुसार पक्राउ पर्ने तीनै जना भाडामा प्रयोग भएकाहरू हुन्।

पक्राउ परेका युवाहरूले एक– एक हजार रूपैयाँ पाउने लोभमा बालकको अपहरण गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।

‘पक्राउ परेका तीनै जना एक हजार पाइने लोभमा परिचालित भएको पाइएको छ’, ती अधिकृतले भने ‘मुख्य व्यक्तिको खोजी कार्य जारी छ।’

घर नजिकै खेलिरहेका बालकलाई  विराटनगरसम्म ल्याउने जिम्मा मिथिलेशकुमारले पाएका थिए।

योजनाअनुसार मिथिलेशले अभिषेक र विवेकानन्दको सहयोगमा बालकलाई त्यहाँबाट लैजान सकेको प्रहरीले जनाएको छ। त्यहाँबाट साइकलमा हालेर विवेकानन्दले विराटनगरतिर लगेको र जहदाको नहरमा पुगेपछि मिथिलेशले फोन गरेर अभिषेकलाई बोलाएको देखिएको प्रहरीले जनाएको छ।

‘अभिषेकको मोटसाइकलमा बालकलाई राखेर उनीहरु तीन जनाले विराटनगर-१५ स्थित श्रीराम स्कुल नजिकै अभिषेकको दाजुको कोठामा पुर्‍याएको देखिन्छ,’ डिएसपी दाहालले भने ।

अभिषेकको दाजु बस्ने घरमा बालक राख्न खोज्दा अपहरणकारीबीच नै विवाद भएको र बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुँदै गर्दा थाहा पाएर स्थानीयले हो–हल्ला  गरेपछि अपहरणकारी प्रहरी नियन्त्रणमा परेका थिए। दुई बजेतिर अपहरणमा परेका बालकको पौने चार बजेतिर उद्धार भएको थियो।

प्रहरीले बालकलाई अपहरण गर्नुपर्ने कारण विस्तृत अनुसन्धानपछि खुल्ने बताएको छ। पक्राउ परेकामध्ये मिथिलेशले भारतीय नम्बरको ह्वाटसएपमा कुरा गरेको देखिएको प्रहरी भनाइ छ।