धार्मिक क्षेत्र तालवाराही मन्दिरको पुनः निर्माणमा अलमल

धार्मिक क्षेत्र तालवाराही मन्दिरको पुनः निर्माणमा अलमल

कहिरन

प्रसिद्ध पर्यटकीय स्थल तथा धार्मिक क्षेत्र तालवाराही मन्दिरको पुनः निर्माणमा अलमल भएको छ । फेवाताल बीचमा रहेको उक्त मन्दिर पुनः निर्माणका लागि भत्काएको लामो समय बितिसक्दा पनि पुनः निर्माणको काम अघि बढेको छैन ।

यही मङ्सिरभित्र पुनः निर्माण सक्ने लक्ष्य थियो । २०७२ सालको भूकम्पले दक्षिणतिर ३ इन्च ढल्काएपछि मन्दिर जोखिममा परेको थियो । त्यसपछि गत चैतमा भत्काइयो । पुरातत्त्व र इन्जिनियर बिच कुरा नमिल्दा कात्तिक पहिलो साता मात्रै शिलान्यास गरिएको थियो । शिलान्यास भए पनि अहिले मन्दिर निर्माणको काम अघि बढेको छैन ।‘पुरातत्त्वको एउटा डिजाइन छ । इन्जिनियरको अर्को डिजाइन भयो ।

कामदारले कसको कुरा सुन्ने ?,’ वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले भने, ‘अब दुवै पक्षलाई समेट्ने गरी काम अघि बढाउनुपर्छ । यो हाम्रो गहना हो, ढिला गर्नु हुँदैन ।’ उनका अनुसार मन्दिर निर्माण सुरु नभए पनि बाह्य कामहरू भने रोकिएको छैन । प्राडा भरत पहारी नेतृत्वको टोलीले पुरातत्त्व विभागसँग समन्वय नगरी र स्वीकृति समेत नलिई तालवाराही मन्दिरको पुनः निर्माणको डिजाइन बनाएको हो । उक्त डिजाइन अनुसार मन्दिर नबनाउन पुरातत्त्वले उर्दी जारी गरेको छ ।

परम्परागत ढाँचामा धेरै नै फेरबदल हुने देखिएपछि काम रोक्न निर्देशन दिएको विभागकी महानिर्देशक सौभाग्य प्रधानले जानकारी दिइन् । ‘मन्दिर भनेकै पुरातत्त्व हो । यसलाई पनि आधुनिक बनाउन थाल्यौँ भने पहिचान गुम्छ,’ उनले भनिन्, ‘अब विवाद मिलाएर छिटै काम अघि बढाउन भन्छौँ ।’ उनले नियतवश नभई प्राविधिक कमजोरी सुधारका लागि काम रोकिएको बताइन् ।

पुरानो शैलीमा मन्दिर तयार गर्न गत वर्ष नै १ करोड ४४ लाखको लागत अनुमान गरिएको थियो । पछि त्यसलाई बढाएर ९ करोड पुर्‍याइएको छ । पुरातत्त्व विभागबाट २५ लाख विनियोजन भएको छ । बाँकी रकम अन्य सरकारबाट ल्याउने र अधिकांश रकम चन्दा सङ्कलन गरिने बताइएको छ । मन्दिरको कोषमा ६५ लाख भन्दा बढी रकम छ । ‘कालिगड बोलाएर पुरानै शैलीमा मन्दिर बनाउने हो । तर कम्तीमा भूकम्प प्रतिरोधी हुनुपर्‍यो नि,’ प्राविधिक संयोजक पहारीले भने । उनले अण्डरग्राउण्ड सहितको मन्दिर निर्माण गर्ने योजना रहेको सुनाए । उनका अनुसार ४ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा २ वर्षभित्र सबै योजना पूरा गर्ने लक्ष्य छ ।

पहिलो वर्षमा मन्दिर पूरा गरिनेछ । त्यहाँ सभाहल, शौचालय, गार्डेन, हवन स्थल, स्टोर कक्ष, पानीको फोहरा, ढुंगेधारा, डुंगाघाट निर्माण हुने गुरुयोजनामा उल्लेख छ । मन्दिर समितिले झ्याल, ढोका, टुँडाल, मूर्तिहरू पहिलाका जस्तै राखिने दाबी गरेको छ । समितिका अध्यक्ष हिकमतबहादुर कुवँरले आफू बिरामी परेको भन्दै यही बीचमा राजीनामा बुझाएका छन् ।

‘मैले राजीनामा दिइसकेँ । अब त्यहाँको बारेमा मलाई केही थाहा छैन,’ २३ वर्ष अध्यक्ष भएर छोडेका उनले भने, ‘मन्दिर निर्माण रोकिएको छैन । सामान्य बुझाइमा फरक परेको हो ।’

१४४७ देखि मन्दिरको अस्तित्व सुरु भएको अभिलेखमा भेटिन्छन् । कास्कीका राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर स्थापना गरेका किंवदन्ती छ । उक्त मन्दिर २०१८ सालमा पुनः निर्माण गरिएको थियो । मन्दिर पुनः निर्माणका लागि चन्दा सङ्कलन देखि आर्थिक सहयोग बटुल्ने काम भैरहेको छ ।

मन्दिर बनाउन चन्दा उठाइरहेको समितिले आफ्नो गुठीका जग्गा भने ततेर्न सकेको छैन । मन्दिर चलाउनकै लागि राजगुठीका रूपमा रहेको सेदीमा करिब २४ रोपनी जग्गा पुजारीहरुले उपभोग गरेका छन् । पोखरा १८ मा रहेको ७१ रोपनी स्थानीयले व्यक्तिगत प्रयोग गरेका छन् भने पोखरा ५ मा रहेको १८ रोपनीमध्ये आधाभन्दा बढी व्यक्तिको नाममा दर्ता भएको छ । त्यहाँको ११ आना मात्रै मन्दिरको नाममा फिर्ता भएको स्रोत बताउँछ । पुजारी निकटकाहरु भने पुजारीहरूका कारण नभई बाह्य कारणले मन्दिर पुनः निर्माणमा समस्या आएको बताउँछ । व्यवस्थापन समितिको निकम्मापन र आर्थिक अपारदर्शीता रहेको उनीहरूको आरोप छ ।