कर्णालीमा बढ्दै मानवअधिकार उल्लंघनका घटना

कर्णालीमा बढ्दै मानवअधिकार उल्लंघनका घटना


सुर्खेत । कर्णालीमा औसत दैनिक एउटा मानवअधिकार हनन् तथा उल्लंघनका घटना हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा कर्णालीमा दैनिक एउटा यस्तो घटना हुने गरेको जनाइएको हो ।

कर्णालीको मानवअधिकारको अवस्थाबारे जानकारी दिँदै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले सन् २०२३ को जनवरीदेखि हालसम्म करिब एक वर्षमा ३६५ वटा मानवअधिकार हनन् तथा उल्लंघनका घटना भएको जानकारी दिए ।

कर्णालीका १० जिल्लामध्ये सुर्खेत, दैलेख र सल्यानमा बढी घटना हुनुका साथै पीडितहरु पनि बढी रहेको उनले बताए । यस्ता घटनाबाट सुर्खेतमा ९१ जना, दैलेखमा १ जना र सल्यानमा ७ जना पीडित भएका छन् ।

महिला अधिकार हनन्‌का घटना २१४ वटा, बालअधिकार हनन्‌का घटना ६५ वटा, परिवारबाट हत्याका घटना २८ वटा र कुटपिटका घटना ३९ वटा भएको पाइएको जानकारी संयोजक सुवेदीले दिए । यसका साथै कर्णालीमा शिक्षा, खाद्य, आवास, स्वास्थ्यको अधिकार हनन्‌का घटना पनि धेरै हुने गरेको छ । जातीय विभेद तथा छुवाछूत, बालविवाह, बहुविवाह, बलात्कार पनि बढी हुने गरेको छ ।

विगतको तुलनामा कर्णालीको मानवअधिकारको अवस्थामा खासै सुधार आउन नसकेको हुँदा प्रदेश तथा स्थानीय सरकारका साथै सरोकारवाला पक्षहरु अझ संवेदनशील भइ भूमिका निर्वाह गर्नुपर्ने अवस्था कायमै रहेको इन्सेक संयोजक सुवेदीले बताए ।

उनले कर्णाली प्रदेश सरकारलाई संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्ने, जनताको आधारभूत आवश्यकताको व्यवस्था मिलाउनुपर्ने, मानवअधिकार संरक्षण विधेयक पारित गर्नुपर्ने, जातीय विभेदविरुद्धका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव पनि दिए ।

सो अवसरमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले आफ्ना प्रदेशवासीको मानवअधिकारको रक्षा र संरक्षणका लागि सदैव प्रयत्नशील रहेको बताए ।

उनले मानवअधिकारको संरक्षणमा अन्य सरोकारवाला पक्षहरुको पनि हातेमालो आवश्यक पर्ने हुँदा त्यसका लागि आह्वानसमेत गरे । उनले अधिकारका सवालमा तीन तहका सरकारबीच समन्वय गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले मानवअधिकारको संरक्षण र सवालमा सबै पक्ष सँगसँगै अघि बढ्नुपर्ने सुझाव दिए ।