सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने

कहिरन समाचार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ । बुधबार पार्टीले प्रदेश सरकारमा सहभागी हुने र दलबाट मन्त्री पठाउने निर्णय गरेको रेशमलाल चौधरीले जानकारी दिए ।

उनका अनुसार यही साता नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेछ । यता उनकै पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले भने केही दिनमा निर्णय हुने बताउँदै सरकारमा सहभागी हुने विषयमा पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गत जेठमा मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा नागरिक उन्मुक्तिले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान लिएर सरकारमा सहभागी भएको थिएन । तर अब भने एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जान तयार भएको स्रोतले जनाएको छ ।

उक्त पार्टीले रिक्त रहेको प्रदेशको भूमि व्यवस्था‚ कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । नागरिक उन्मुक्तिले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई सरकारमा पठाउने तयारी गरेको स्रोतले जनाएको छ ।