कोशी प्रदेश: बाढीपहिरोबाट मृतकका परिवारलाई एक लाख राहत दिने निर्णय

कोशी प्रदेश: बाढीपहिरोबाट मृतकका परिवारलाई एक लाख राहत दिने निर्णय

कहिरन समाचार

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट मृत्यु भ​एकाहरूका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोशीका पहाडी जिल्लामा आएको बाढीपहिरोबाट ​मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

पहाडी जिल्लाहरूमा अचानकको वर्षा र त्यसपछिको आकस्मिक बाढीपहिरोले १५ वटा पुल, १७ स्थानमा सडक अवरोध, ५४ परिवार विस्थापित, ३२ वटा घर पूर्ण रूपमा र २२ वटामा आंशिक क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।

बाढीपहिरोले घरगोठ बगाउँदा ७४ वटा पशुचौपाया र ८४ वटा पशुपन्क्षी मरेको विवरण संकलन भएको छ । संखुवासभामा मात्रै करिब ४० रोपनी बालीसहितको खेतबारी बाढी र पहिरोले पुरेको जनाइएको छ ।