बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

कहिरन समाचार

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबारको प्रदेश सभा बैठकमा सभामुख भुवन पाठकले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनमा प्रदेश सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रममा समेट्न नसकेको प्रतिपक्षीहरूको सुझाव बजेटमार्फत सम्बोधन गर्ने आश्वासन दिए । उनले नीति तथा कार्यक्रममा पनि प्रतिपक्षी दलहरूबाट आएका केही महत्वपूर्ण सुझाव समेटेको दाबी गर्दै छलफलका क्रममा आएका आएका नयाँ सुझावहरूलाई बजेटमा समेट्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री जम्कट्टेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिपक्षी दलको पनि भएकाले यसको कार्यान्वयनका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए । उनले नीति तथा कार्यक्रमले बागमती प्रदेशलाई सबल, सुशासनयुक्त, आत्मनिर्भर र प्रविधिमैत्री प्रदेशको रूपमा विकास गर्न सक्षम हुने दाबी पनि गरे ।

नीति तथा कार्यक्रममा नेमकिपाका सुरेन्द्र गोसाई र सिर्जना सायजू, एमालेका मधुसुदन पौडेल, प्रकाश श्रेष्ठ र एकालाल श्रेष्ठले संशोधन प्रस्ताव राखेका थिए । उनीहरूको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।