सल्यानका तीन पालिकाको आफ्नै सुरक्षा संयन्त्र

सल्यानका तीन पालिकाको आफ्नै सुरक्षा संयन्त्र

कहिरन समाचार

काठमाडौं । सल्यानका तीन ओटा स्थानीय तहले आफ्नै नगर प्रहरी खडा गरेका छन् । सुरक्षाका दृष्टिले अतिसंबेदनशिल नै बनेको भन्दै सल्यानको शारदा नगरपालिकासहित त्रिवेणी गाउँपालिका र कपुरकोट गाउँपालिकाले नगर प्रहरी भर्ना गरेर पालीकासंगै जनताको सुरक्षा दिन सफल भएको दाबी गरेका छन् ।

२०७५ मा बनेको कार्यविधिमा स्थानीय तहले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन गर्न सक्ने व्यवस्था अनुसार स्थानीय तहले गाउँ प्रहरी भर्ना गरेका हुन । स्थानीय तहमा प्रहरी भएपनि कार्यक्षेत्र बढि हुँदा सबै ठाउँमा प्रहरी पुग्न नसकेपछि प्रहरीलाई नै सहयोग हुने गरी पालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्ना गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले बताए ।

‘नगर प्रहरीको कार्यक्षेत्र बढाएपछि अहिले बजारको अनुगमन गर्न लगाइएको छ । सुरक्षाको दृष्टीकोणले यहाँको क्षेत्र बढी भएकाले प्रहरी इकाईका सहयोगका लागि पनि र गाँउपालिकाको सुरक्षाका लागि नगर प्रहरी संयन्त्र बनाएका हौं’, उनले भने ।

आफ्नै सुरक्षा संयन्त्र परिचालन गरेपछि गाउँको सुरक्षादेखि दैनिक कार्यसम्पादन समेत प्रभावकारी बनेको पालिकाहरुको दाबी छ । नगर प्रहरीको कामबाट जनतापनि सन्तुष्ट रहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको दाबी छ ।

उनले भने, ‘विशेषगरी पालिकाको कामका लागि तयार गरिएको हो । राजश्व संकलनमा सहजिकरण, फोहोरमैला व्यवस्थापन तथा विपद् आएको क्षेत्रमा व्यवस्थापन गर्न कार्य गर्दै आएका छन् ।’

पालिकास्तरमा गठन गरिएको प्रहरी संयन्त्रले शान्ति सुरक्षासँगै सेवाग्राहीको कामलाई समेत सहयोग गर्ने गरेको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले बताए ।