काठमाडौं । लुम्बिनी प्रदेशको मसख्यमन्त्रीको लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । कांग्रेस, माओवादीसहितको आठ दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाको हस्ताक्षरसहित चौधरीले सरकारको नेतृत्वका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी गरेका हुन् ।
एमाले नेतृत्वको सरकार ११ चैतमा ढलेपछि प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा नयाँ सरकार बनाउने गरी आह्वान गरेका थिए । सो समयावधि आज अपराह्न ४ बजे सकिँदै छ ।
८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार, जनमत, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीका तीन–तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद छन् ।
तीमध्ये एमालेका २९ र राप्रपाका चारबाहेक अन्य दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया