निर्माण व्यवसायीद्वारा कार्याकक्षमै थुनिए मधेश प्रदेशका सचिव

निर्माण व्यवसायीद्वारा कार्याकक्षमै थुनिए मधेश प्रदेशका सचिव

कहिरन समाचार

बागमती । निर्माण व्यवसायीहरूले विभिन्न योजनाका काम पूरा गरे पनि भुक्तानी नदिएको भन्दै मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्याकक्षमै थुनेका छन् ।

काम गरेको डेढ वर्षपछि पनि भुक्तानी गर्ने छाँटकाँट नदेखिएपछि निर्माण व्यवसायीले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई थुनेका हुन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाको विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै निर्माण व्यवसायीहरूले मन्त्रालय पुगेर सचिवको कार्यकक्षमा ताला लगाएर प्रदर्शन गरेका छन् । यसका साथै निर्माण व्यवसायीहरूले सचिवको कार्यकक्ष अघि फोहोर समेत थुपारेका हुन् ।

गत आर्थिक वर्षमा प्रदेश सरकारको दर्जनौं विकास निर्माणको काम गरेका उनीहरूले काम सम्पन्न गरेको साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकाले बाध्य भएर आज सचिवलाई नै कार्यकक्षमा थुनेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए ।

उनले आफूहरूले काम सम्पन्न गरेको वर्षौं बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्नसमेत समस्या भइरहे पनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो गरे । काम गराउन बै‌ंकबाट ऋण लिएको र त्यसको ८० हजार मासिक ब्याज तिुर्न परिरहेको उनले बताए ।

उनीहरूका विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी छ । यसमा अन्य मन्त्रालयहरूमा गरेको काम पनि रहेको छ । मधेश प्रदेश सरकारका अन्य मन्त्रालयहरूको पनि विभिन्न उपभोक्ता समितिको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।