रोङ पालिकाले थाल्यो गुन्द्रुकको व्यावसायिक उत्पादन 

रोङ पालिकाले थाल्यो गुन्द्रुकको व्यावसायिक उत्पादन 

कहिरन समाचार

इलाम । जिल्लाको रोङ गाउँपालिकाले कारखाना स्थापना गरेर व्यावसायिक रूपमा गुन्द्रुक उत्पादन शुरू गरेको छ । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले गाउँपालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रूपमा गुन्द्रुक उत्पादन थालिएको बताए ।

उनले गुन्द्रुक ‘ब्रान्डिङ’ गरेर बजारमा लैजाने तयारी भइरहेको बताए । गुन्द्रुकको बजार राम्रो रहेकाले गाउँपालिकाले गुन्द्रुक उत्पादनमा जोड दिएको हो । गुन्द्रुक बजार पुर्‍याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा आउने अध्यक्ष स्याङ्बो बताउँछन् ।

स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारी समेत सिर्जना हुने भएकाले पनि गुन्द्रुक उत्पादनलाई अगाडि बढाइएको अध्यक्ष स्याङ्बो बताउँछन् । गुन्द्रुक उत्पादनका लागि कारखाना नै सञ्चालन गरिएको छ । गुन्द्रुक उत्पादनमा सरसफाइलाई विशेष ध्यान दिइएको छ । सागलाई तीन पटकसम्म धोएर मात्र ‘प्रोसेसिङ’को काम अगाडि बढाइने अध्यक्ष स्याङ्बोको भनाइ छ ।

बजार नभएर प्रायः खेर जाने सागबाट गाउँपालिकाको अग्रसरतामा गाउँमै गुन्द्रुक उत्पादन हुन थालेपछि किसानहरू खुसी भएका छन् । साग गाउँमै बिक्री हुने भएपछि खेती गर्न पनि जाँगर चलेको रोङ-५ की मेनुका राई बताउँछिन् । रायोको साग प्रतिकिलो १६ रुपैयाँमा बिक्री हुँदै आएको छ । सहकारीमार्फत यसको काम अगाडि बढाइएको छ ।

गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकिलो १० रुपैयाँ निर्धारण गरिएको अध्यक्ष स्याङ्बोले बताए । साग गाउँपालिकाको कारखानालाई दिने किसानले सागमा प्रतिकेजी ६ रुपैयाँ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ । त्यस्तै‚ गुन्द्रुकमा प्रतिकिलो ८० रुपैयाँ अनुदानको व्यवस्था छ ।