सप्तरीमा तस्कर समूहले ढुंगामुढा, प्रहरीले तीन राउन्ड हवाई फायर

सप्तरीमा तस्कर समूहले ढुंगामुढा, प्रहरीले तीन राउन्ड हवाई फायर

कहिरन समाचार

सप्तरीमा तस्कर समूहले ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ।

मंगलबार दिउँसो साढे १२ बजे बलान बिहुल गाउँपालिका-४ बेल्हीमा तस्कर समूह र प्रहरीबीच झडप भएको हो। प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार सामान तस्करी गरी भारतबाट नेपाल भित्र्याएर घरमा राखेको भन्ने सूचना प्रहरीले पाएको थियो।

सो सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो।

टोलीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको हो। प्रहरीले भन्सार छलेर ल्याएका लत्ताकपडा लगायतका सामान पनि बरामद गरेको छ। कति सामान बरामद भयो भन्ने खुलिसकेको छैन।

घटनामा तीन जना प्रहरी पनि घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। उनीहरूमा सामान्य चोट लागेको हो।

भन्सार छलेर सामान ल्याउने मानिसहरू भने फरार छन्।