भारतीय जतिन नेपाल टी-२० लिग फिक्सिङका प्रमुख योजनाकार

भारतीय जतिन नेपाल टी-२० लिग फिक्सिङका प्रमुख योजनाकार

कहिरन समाचार

नेपाल टी-२० लिगमा फिक्सिङ भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रमुख योजनाकार व्यक्ति जतिन अलुवालियालाई बनाएको छ।गत पुस २८ गते कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा सकिएको लिग सुरूदेखि नै विवादित बनेको थियो। उक्त लिग नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना गर्ने जिम्मा दिएको थियो।

लिग सुरू हुनु अघिदेखि नै बेटिङ (बाजी) र स्पट फिक्सिङको आशंका गरिएको थियो। लिग चलिरहँदा सिआइबीमा उजुरी परेपछि डिएसपीको नेतृत्वमा अनुसन्धान गरिरहेको छ।

अनुसन्धानको क्रममा सिआइबीले दुई जना क्रिकेटरलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम छन्। यद्यपि सिआइबीले यसबारे पछि मात्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

जतिन अलुवालिया सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक हुन्। सिआइबीले लिगमाथि अनुसन्‍धान गरिरहेको थाहा पाएसँगै उनी भारत भागेका थिए।

यसरी लिग सञ्चालन गर्ने जिम्मा लिएका अलुवालिया भागेपछि सिआइबीले उनीमाथि थप अनुसन्धान गरेको थियो। अहिले उनको भूमिका नै फिक्सिङमा प्रमुख देखिएको सिआइबी उच्च स्रोतले बताएको छ।

उनकाअनुसार उनी नेपाल आउजाउ गरिरहने व्यक्ति हुन्। नेपालमा रहेका क्रिकेट क्षेत्रका व्यक्तिहरूसँग उनले पछिल्लो समय राम्रो हिमचिम थियो।

सिआइबीले फोन कल विवरण, उनको पृष्ठभूमि हेर्दा पनि नेपालमा रहेका क्रिकेट क्षेत्रका व्यक्तिहरूसँग राम्रै चिनजान भएको स्रोत बताउँछ।

‘कल डिटेल्स, पृष्ठभूमि हेर्दा नेपालीहरूसँग राम्रै चिनजान देखिन्छ। उसले ज-जसलाई दुरूपयोग गर्न सकिन्छ तिनीहरूलाई प्रयोग गरेको देखिएको छ,’ स्रोतले भन्यो, ‘अनुसन्धानबाट उनी नै मुख्य व्यक्ति हो भन्ने देखिएको छ। यसबारे हामी थप अनुसन्धान गर्दैछौं।’

उनलाई पक्राउ नै गर्ने सिआइबीको तयारी रहेको स्रोतको दाबी छ। लिगमा मुख्य प्रायोजकको रूपमा वान एक्स ब्याट कम्पनी थियो। बेटिङ गराउने कम्पनी वान एक्स बेटको सहायक कम्पनी रहेकाले पनि यसको आर्थिक स्रोत बेटिङ नै हो कि भन्ने प्रहरीको आशंका थियो।

सिआइबीले यस लिगमा प्रत्‍यक्ष रूपमा क्यानको संलग्नता नरहेको जनाएको छ। तर यसमा क्यानको कमजोरी भने औंल्याएको छ। कमजोरी भएको भन्दै क्यानलाई सुझाव दिने सिआइबीको तयारी छ।

भारतमा केही खेल खेलाएकै भरमा क्यानले नेपालमा लिग चलाउन दिनु कमजोरी रहेको सिआइबीको भनाइ छ। यसरी लिग सञ्चालन गर्न दिनुअघि नै कम्पनीको पृष्ठभूमि नहेरेको हुँदा पनि यस्तो घटना भएको प्रहरीको बुझाइ छ।

सम्झौता गर्दा नै क्यानले कमजोरी गरेको देखिएको छ।

‘सम्झौता गर्दा पनि सुरूमा एक वर्षसम्मको मात्रै गरेको भए पनि हुन्थ्यो। तर आफ्नो कार्यकालभन्दा बढी समयको पनि सम्झौता गरेको पाइयो,’ सिआइबी उच्च स्रोतले भन्यो, ‘श्रम स्वीकृतिमा समन्वय नभएको देखियो।’

सिआइबीले यो लिगमा नेपाली र विदेशी खेलाडी गरी कम्तीमा ७ जनाको संलग्नता रहेको बताएको छ।

उनीहरूको बैंक विवरणहरू समेत प्रहरीले हेरेको छ। कतिपय शंका भएका ठाउँमा खेलाडीले फिक्सिङ गरेको देखिए पनि कसले गराएको भन्ने नखुलेको प्रहरीले बताएको छ।

लिगमा स्पट फिक्सिङ भएको आशंका पछि आइसिसीको टोली नेपाल आएको थियो। आइसिसीको टोलीले सिआइबीसँग भेटेर सहयोग गर्ने बताएको थियो।

‘आइसिसीले विभिन्न च्यानलबाट आएका सूचनाहरू दिने भन्नुभएको थियो। लगभग ती कुराहरू हाम्रो अनुसन्धानसँग मिल्दोजुल्दो नै छन्,’ स्रोतले भन्यो, ‘हामीले केही छुटाएका कुराहरू पनि औंल्याएको थियो, हामीले त्यो पनि हेरिरहेका छौं।’

सेभेन थ्री स्पोर्ट्ससँग कुनै ठूलो लिग गरेको अनुभव थिएन। कम्पनीलाई बेटिङ कम्पनी भएको आरोप लागेको थियो। तर कम्पनीका प्रमुख जतिनले आफूहरू कुनै बेटिङ कम्पनी नभएको स्पष्टीकरण दिने गरेका थिए।

सुरूदेखि नै विवादमा परेको नेपाली टी-२० लिगका लागि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग स्ट्राटेजिक एन्ड कमर्सियल पार्टनर एन्ड एड्भाइजर राइट्स (रणनैतिक र व्यावसायिक साझेदार र सल्लाहकार अधिकार) दिँदै ८ वर्षको सम्झौता गरेका थियो।

सम्झौताअनुसार सेभेन थ्रीले आठ वर्षमा क्यानलाई ३३ करोड रूपैयाँ दिने उल्लेख थियो। पहिलो सिजन क्यानले ३ करोड ९० लाख रूपैयाँ पाउने सम्झौता थियो। तर क्यानले अहिलेसम्म पूरा रकम पाएको छैन।

नेपाल क्रिकेट संघ (क्यान) ले लिगका लागि सञ्चालक परिषद् (गभर्निङ काउन्सिल) गठन गरेको थियो।

काउन्सिलमा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक थिए भने सदस्यमा भारतीय पूर्वक्रिकेटर अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल थिए।

यस्तै परिषद सदस्यमा नेपाल टी-२० लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसका प्रमुख जतिन थिए। परिषदमा जतिन नै हाबी भएका थिए। सबै कामकारबाही उनले भनेअनुसार नै चल्ने गरेको थियो।

टी-२० चलिरहँदा जतिन एक्कासि भारत पुगेका थिए। उनी भारत पुगेपछि लिगमा खेलाडीले पारिश्रमिक नपाएको सार्वजनिक भएको थियो। लगत्तै लिगमा स्पट फिक्सिङ भएको आरोप लागेको थियो।

लिग विवादित बनेपछि जतिनले भारतबाट आफूलाई सुरक्षा खतरा भएको भन्दै नफर्किने कुरा सञ्चार माध्यममार्फत सार्वजनिक गरेका थिए। लिग चलिरहँदा गृह मन्त्रालयको निर्देशनमा सिआइबीले लिगमा स्पट फिक्सिङ भएको विषयमा अनुसन्धान थालेको थियो। सिआइबीले फिक्सिङमा सेभेन थ्रीका प्रमुख जतिनको संलग्नता भएको निष्कर्ष निकालेको थियो।