पाटनमा रात्रिकालीन टेबल टेनिस

पाटनमा रात्रिकालीन टेबल टेनिस

कहिरन समाचार

सांस्कृतिक परम्पराको निरन्तरतामा पाटन देशका अन्य क्षेत्रको तुलनामा अग्रणी छ । समुदायस्तरबाट हुने गरेका सकारात्मक प्रयासको सूचीमा अहिले थपिएको छ– रात्रिकालीन टेबल टेनिस ।पाँच दशकअघिदेखि पाटनका बहाः (चोक)हरुमा हुने रात्रिकालीन टीटीलाई संस्कृतिका रुपमा विकास गर्ने ललितपुर जिल्ला टेबल टेनिस संघको प्रयासमा स्थानीय तह र समुदायले साथ दिएका छन् ।

ओलम्पिक मान्यताप्राप्त खेल विधा टेबल टेनिस इण्डोर खेल हो । बास्केटबल र फुटसलको लोकप्रियता बढ्नुअघि विद्यालय र क्याम्पसमा टेबल टेनिस सबैभन्दा चर्चित खेलविधा हुने गरेको थियो । अहिले पाटनले टेबल टेनिसलाई आफ्नो मौलिक संस्कृतिको हिस्सा बनाउने प्रयास गरिरहेको छ ।

ललितपुर महानगरपालिकाको कुनै खुला स्थानमा टेन्ट टाँगेर राथिको समयमा टेबल टेनिस प्रतियोगिता आयोजना हुन थालेको चार वर्ष भएको छ । ललितपुर मेयर कप नाम दिइएको यो प्रतियोगितामा उमेर समूह, राष्ट्रिय खेलाडीदेखि भेट्रान्ससम्मका विधा समावेश गरिएका छन् । १२ नम्बर वडामा आयोजना भएको चौथो संस्करण गत हप्ता सम्पन्न भएको छ ।

२०३० को दशकदेखि पाटनमा रात्रिकालीन टेबल टेनिस प्रतियोगिता सुरु भएको सिनियर खेलाडीहरु बताउँछन् । त्यो समयमा हरेक टोलमा सिमेन्टका हरिया बोर्डहरु हुन्थे । ब्याट र बलका लागि आर्थिक भार नपर्ने भएकाले पनि धेरैको आकर्षण टेबल टेनिसमा थियो । पाटनका सुन्धारा, मापाल, कुटीसौगल, पुल्चोक, त्यागलमा पालैपालो हरेक वर्ष टेबल टेनिस प्रतियोगिता आयोजना हुने गरेको थियो ।

‘हाम्रो समयमा मनोरन्जनका अरु साधनहरु थिएन । प्रतियोगिता भएको समयमा साँझ परेपछि मान्छेहरु खेल हेर्न भेला हुन्थे । ४/५ सय मान्छेहरु खेल हेर्न आउने । होहल्ला गर्ने । रमाइलो छुट्टै थियो,’ २०३९ सालमा मापालमा आयोजित रात्रिकालीन प्रतियोगिताका विजेता पन्नाकाजी शाक्यले स्मरण गरे ।

पन्नाकाजी आफ्नो समयमा पाटनका स्टार खेलाडी हुन् । रात्रिकालीन प्रतियोगितामा नियमित सहभागी हुने र उपाधि जित्ने उनलाई देखेर धेरै युवाहरु प्रेरित भएका छन् । पन्नाकाजीले भलै राष्ट्रिय टिमबाट खेलेनन् तर उनको खेल हेरेर उत्साहित हुने राजेन्द्र कपाली, रविन्द्र शाक्यहरु नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्तरसम्म पुगे ।

झण्डै पाँच दशक अगाडिको पाटनको टेबल टेनिस माहोललाई फर्काउन ललितपुर जिल्ला टीटी संघको प्रयासका लागि पन्नाकाजी खुसी व्यक्त गर्छन् । संघका पूर्व सहसचिवसमेत रहेका उनले भने, ‘पाटनमा टीटीको त्यो माहोल फर्काउनका लागि मेयर कप सुरु भएको हो । टीटी खेलको माहोल रंगशालापछि सबैभन्दा धेरै कतै थियो भने त्यो पाटनमा मात्र हो । पाटनको मापाल, सुन्धारा र नागबहाल त सबैभन्दा धेरै गतिविधि हुने ठाउँ हो ।’

चौथो संस्करणमा यसपल्ट भेट्रान्सतर्फ ६० वर्षमाथि उमेरसमूहमा १९ नम्बर वडाका जगदीश्वरप्रसाद जोशीले स्वर्ण जिते । उनी जिल्ला टीटी संघका उपाध्यक्षसमेत हुन् । टेबल टेनिस खेलमा बालबालिकालाई हौसला बढाउन आफूले खेलेको उनले बताए ।

मोबाइल र टेलिभिजनको सुविधाले बच्चाहरुमा सामाजिक समस्या देखिन थालेको छ । उनीहरु घरबाहिर निस्कन नरुचाउने र खेल गतिविधिमा सहभागी नहुँदा समुदायमा दीर्घकालीन असर पर्नसक्ने जोखिम सोचेर प्रतियोगिता आयोजना भएको जोशीको भनाइ छ ।

‘सुरुमा बच्चाहरुलाई घरबाट निकाल्नै गाह्रो हुन्छ । निकालिसकेपछि र खेल्न सिकाएपछि उनीहरु घर जानै मान्दैनन् । सकेसम्म बच्चाहरुलाई मोटिभेट गर्नका लागि खेलिरहेका छौं,’ उनले भने, ‘हाम्रो जोश जाँगर देखेपछि उनीहरु पनि खेल्न उत्सुक हुन्छन् । अहिलेका बच्चाहरुलाई जसरी भए पनि घरबाट बाहिर निकाल्नुपर्ने भएको छ ।’