युभेन्टसमाथि कारबाही, लिगमा १५ अङ्क घटाइयो

युभेन्टसमाथि कारबाही, लिगमा १५ अङ्क घटाइयो

कहिरन समाचार

क्लबले खेलाडीको खरिद–बिक्रीमा अनियमितता गरेको आरोपमा युभेन्टसको १५ अङ्क घटाइएको इटालीको फुटबल फेडरेसन (एफआईजीसी) ले जानकारी दिएको छ । खेलाडीको ट्रान्सफरमा कृत्रिम नाफा देखाएर क्लबको हिसाब मिलान गराएको सिरिए क्लबमाथि आरोप लागेको थियो ।

हाल तेस्रो स्थानमा रहेको युभेन्टसको १५ अङ्क घटाएपछि लिगको १० औँ स्थानमा खस्किनेछ । युभेन्टसले भने आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ । क्लबले निर्णयविरुद्ध पुनरावेदन दिने अपेक्षा गरिएको छ । क्लबका वकिलहरूले यसबारे विस्तृत अध्ययन गरिरहेको प्रतिक्रिया दिएका छन् ।

यसअघि गत नोभेम्बरमा क्लबका अध्यक्ष आन्ड्रेया एग्नेली र उपाध्यक्ष पाभेल नेडभेडले राजीनामा दिएका थिए । एफआईजीसीले एग्नेली र क्लबका पूर्व सीईओ माउरिजियो एरिभाबेनमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ । एग्नेली १२ वर्ष क्लबका अध्यक्ष रहेका थिए । यो समयमा क्लबले ठुलो घाटा बेहोरेको थियो ।