फुलहमसँग चेल्सी स्तब्ध

फुलहमसँग चेल्सी स्तब्ध

कहिरन समाचार

चेल्सी इंग्लिस प्रिमियर लिगमा फुलहमसँग पराजित भएको छ। वेस्ट लन्डन डर्वीको खेलमा चेल्सी घरेलु टोली फुलहमसँग २–१ ले पराजित भएको हो।

घरेलु मैदानमा फुलहमको जितमा विलियम र भिनिसियसले गोल गरे। यो सिजन खराब लयमा रहेको लन्डन क्लब चेल्सीका कालिडोउ कोउलीवालीले एक गोल फर्काए।

क्राभेन कटेज लन्डनमा बिहीबार राति भएको खेलको २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई सुरूआती अग्रता दिलाए।

४७औं मिनेटमा कालिडोउ कोउलीवलीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

तर ५८औंं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो। यसै साता स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा चेल्सी आएका पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स आफ्नो डेब्यु खेलमै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। बल खोस्नेक्रममा टिटेमाथि च्यालेन्ज गरेपछि रेफ्री डेभिड कोटले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

त्यसपछि ७३ औं मिनेटमा भिनिसियसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलमा गोल नहुँदा चेल्सी २–१ ले स्तब्ध भयो।

यो जितसँगै फुलहम १९ खेलबाट ३१ अंक जोडेर छैठौं स्थानमा उक्लिएको छ। पराजित चेल्सी १८ खेलबाट २५ अंक जोडेर १० औं स्थानमा रहेको छ।