श्रीलङ्काविरुद्ध भारतलाई लगातार पाँचौँ घरेलु सिरिज, सूर्यकुमारको तेस्रो शतक

श्रीलङ्काविरुद्ध भारतलाई लगातार पाँचौँ घरेलु सिरिज, सूर्यकुमारको तेस्रो शतक

कहिरन समाचार

श्रीलङ्काविरुद्धको टी–२० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ । यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ ।

भारतीय टोलीले श्रीलङ्कासँग लगातार पाँचौँ घरेलु शृङ्खला जितेको छ । दुई टोलीबीच भारतमा अहिलेसम्म ६ वटा सिरिज भइसकेको छ । जसमध्ये एउटा मात्रै बराबरी भएको छ जुन सन् २००९ मा खेलिएको थियो ।

आइतबार राजकोटको सौराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा भारतले टस जितेर ब्याटिङ गर्दै २२८ रनको स्कोर बनायो। जवाफमा श्रीलङ्काका ब्याट्सम्यान १६.४ ओभरमा १३७ रनमा अलआउट भएका थिए ।

भारतको जितका नायक बने सूर्यकुमार यादव । उनले ५१ बलमा ११२ रन बनाए । खेलको प्लेयर अफ द म्याच सूर्य घोषित भए । अक्षर पटेल प्लेयर अफ द सिरिज भए । अक्षरले ११७ रन बनाएर तीन विकेट लिए ।

सूर्यकुमारबाहेक शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्काका लागि दिलशान मदुशंकाले २ विकेट लिए । कासुन रजिथा, चमिका करुणारत्ने र भानिन्दु हसरंगाले समान १–१ विकेट लिए ।

जवाफी इनिङ्समा श्रीलङ्काका कप्तान दासुन शनाका र ओपनर कुसल मेन्डिसले २३–२३ रन बनाए । धनञ्जय डि सिल्भाले २२ रन जोडे । बलर अर्शदीप सिंहले ३ विकेट लिए । हार्दिक पाण्डेय, उमरान मलिक र युजवेन्द्र चहलले समान २–२ विकेट लिए ।