शीर्ष स्थानमा आर्सनललाई ७ अंकको अग्रता

शीर्ष स्थानमा आर्सनललाई ७ अंकको अग्रता

कहिरन समाचार

इंग्लिस प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ।

लिग अन्तर्गत गएराति ब्राइटनमाथि ४ – २ गोल अन्तरको जित निकाल्दै आर्सनलले अंक तालिकामा स्पष्ट सात अंकको अग्रता बनाएको हो।

आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, एडी एनकेटीया र ग्राबियल मार्टिनेलीले गोल गरे। यस्तै घरेलु टोलीका लागि काउरू सिटोमा र इभान फर्गुसनले गोल गरे।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरूआती अग्रता दिलाए। खेलको ३९ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर बनाए।

दोस्रो हाफको सुरूमै एडी एनकेटियाले गोल गर्दै आर्सनलको अग्रता ३-० पुर्‍याए।

त्यसपछि एर्भटन खेलमा फर्कने संकेत देखायो। खेलको ६५ औँ मिनेटमा काओरु मिटोमाले गोल गर्दै अन्तर घटाए। तर ७१ औँ मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गरेपछि आर्सनललाई ४ – १ गोलले अघि बढ्यो। ७७ औं मिनेटमा इभान फर्गुसनले गोल गर्दै अन्तर घटाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यो जितपछि आर्सनलले १६ खेलबाट ४३ अंक बनाएको छ।

यस्तै उपाधिको अर्को दाबेदार म्यानचेस्टर सिटी एभर्टनसँग १-१ गोलको बराबरी खेल्दै शीर्ष स्थानमा अग्रता छोट्याउने मौका गुमायो।

इतिहाद रंगशालामा भएको खेलमा अर्लिङ हालान्डले २४ औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाए पनि ६४ औँ मिनेटमा डिमाराई ग्रेले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए।

यस्तै तालिकाको तेस्रो स्थानमा रहेको न्यूक्यासल पनि लिड्स युनाइटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। १७ खेल खेलेको न्यूक्यासल ३४ अंकसहित तेस्रो स्थानमा कायमै छ।

यस्तै गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले उल्भसलाई १-० गोल अन्तरमा हराउँदै चौथो स्थानमा उक्लिएको छ। म्यान्चेष्टर युनाइटेडको जितमा मार्कस ह्रासफर्डले ७६ औं मिनेटमा निर्णायक गोल गरे।

यो जितपछि युनाइटेट १६ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ।