आज युएईले नेपालसँग पहिलो पटक एकदिवसीय सिरिज खेल्न

आज युएईले नेपालसँग पहिलो पटक एकदिवसीय सिरिज खेल्न

कहिरन समाचार

घरेलु नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईसँग तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज खेल्दैछ । युएईले नेपालसँग पहिलो पटक नेपालमा एकदिवसीय सिरिज खेल्न लागेको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालका लागि नयाँ कप्तान रोहित कुमार पौड्यलको पनि परीक्षणको रूपमा आजको खेल रहने छ । रोहितले पहिले पटक राष्ट्रिय टोलीका लागि आधिकारिक रूपमा कप्तानको जिम्मेवारी पाएका छन् ।

नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म नेपालमाथि यूएई हाबी देखिएको छ । यूएईले नेपालसँग ६ पटक प्रतिस्पर्धा गरेको छ । जसमा यूएईले ४ खेलमा जित निकाल्दा नेपालले भने दुई खेलमा मात्र जित निकालेको छ ।

नेपाल र यूएईबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल २०१८ को एसीया कप क्वालिफायरमा भएको थियो । यो खेलमा नेपाल ७८ रनले पराजित भएको थियो । नेपाल र युएईबीच २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म तीन खेलको एकदिवसीय सिरिज भएको थियो । युएईमा भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई १४५ रनले हराउँदा सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले ४ विकेटको जित निकाल्न सफल भएको थियो ।

नेपाल र यूएईबीचको पाचौँ एकदिवसीय विश्वकप लिग टू त्रिदेशीय सिरिजका क्रममा भएको थियो । यस सिरिजको पहिलो खेलमा नेपालले ४८ रनको हार बेहोरेको थियो । सोही सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल र युएईबीचको छैटौँ भेट थियो जसमा नेपाल ९९ रनले पराजित भएको थियो ।