गोलकिपर किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

गोलकिपर किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

कहिरन समाचार

सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई नेपाली गोलकिपर किरणकुमार लिम्बूले अविस्मरणीय बनाएका छन्।

किरण आबद्ध क्लब माजिया एससीले सिजनको उपाधि जित्न सफल भयो भने उनी लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए।

किरणले खुसी यतिमा मात्र सीमित राखेनन्।

क्लबका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगे।

त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चन निरौलालाई सबै सहकर्मीका अघि औंठी लगाइदिए, विवाह प्रस्ताव राखे।

किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए।

कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको यो वर्ष विवाह गर्ने योजना छ। किरणले आफ्ना नजिकका साथीसँग यो वर्ष विवाह गर्ने बताएका छन्।

माल्दिभ्सको राजधानी मालेमा प्रेमिका निरौलालाई औंठी लगाइदिएको भिडिओ किरणले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

भिडिओ पोस्टमा उनले प्रेमिकाको प्रशंसा गर्दै आफ्नो जीवनमा आएकोमा धन्यबाद दिएका छन्।