अय्यरको शतकमा भारतद्वारा दक्षिण अफ्रिका ७ विकेटले पराजित

अय्यरको शतकमा भारतद्वारा दक्षिण अफ्रिका ७ विकेटले पराजित

कहिरन समाचार

श्रेयस अय्यरको शतकको मद्दतमा भारतले राँचीमा भएको एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले भारतलाई २७९ रनको लक्ष्य दिएको थियो । भारतीय टोलीले २५ बल बाँकी रहँदै यो लक्ष्य हासिल गर्‍यो।

भारतका लागि श्रेयस अय्यरले १ सय १३ रन बनाए । १११ बलको आफ्नो पारीमा उनले १५ चौका प्रहार गरे । इशान किशनले पनि बलियो पारी खेले । उनी ८४ बलमा ९३ रन बनाएर आउट भए । उनले चार चौका र सात छक्का प्रहार गरे । अय्यर र किशनले तेस्रो विकेटका लागि १६१ रनको साझेदारी गरे। कप्तान शिखर धवनले १३ र शुभमन गिलले २८ रन बनाए । सञ्जु सामसन २९ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७८ रन बनाएको थियो । अफ्रिकी टोलीका लागि मार्करामले सर्वाधिक ७९ रन बनाए । भारतका लागि मोहम्मद सिराजले ३ विकेट लिए ।

तीन खेलको शृङ्खलामा अहिले १–१ को बराबरी भएको छ । लखनउमा भएको पहिलो एकदिवसीय खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको छ । तेस्रो एकदिवसीय खेल अक्टोबर ११ मा दिल्लीमा हुनेछ ।