गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार लास पालमासलाई रियलले २–१ गोलले हराएको हो ।
दोस्रो हाफको सुरुवातमा ज्याभिएर मुनोजको गोलको मद्दतले घरेलु टोली लास पालमासले खेलमा अग्रता लिएको थियो । तर, लगातार दोस्रो हप्ता रियलले पुनरागमन गर्न सफल भएको थियो ।
६५ औँ मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काए भने सब्सटिच्युट औरेलियन टुअमानीले ८४ औँ मिनेटमा टोनी क्रुसको क्रसमा गोल गर्दै कार्लो एन्चेलोटीको टोलीलाई जीत दिलाए ।
जीतसँगै रियल दोस्रो स्थानमा रहेको जिरोनाभन्दा २ अङ्कले अघि रहेको छ । २१ खेलपछि रियलको ५४ अङ्क रहेको छ भने जिरोना ५२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । शनिबारको खेलमा जुड बेलिङह्याम निलम्बित थिए ।
प्रतिक्रिया