समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । विश्भर यी दुबै फुटबल स्टारका कराडौँ समर्थक छन् । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डोको टोली लामो समयदेखि एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छैनन् ।
पहिले यी दुबै महान खेलाडी स्पेनिस क्लबबाट ब्यवसायीक फुटबल खेल्थे । ३८ वर्षीय रोनाल्डो रियल म्याड्रिडबाट र ३६ वर्षीय मेस्सी बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्थे । त्यतिबेला भने यी दुई महान खेलाडी समय–समयमा एक–अर्काविरुद्ध मैदानमा ओर्लन्थे ।
उक्त खेलमा इन्टर मियामीबाट मेस्सी र अल नासरबाट रोनाल्डो पनि मैदानमा ओर्लने भएका छन् । साउदी अरेबिया भ्रमणका क्रममा मेस्सीको क्लब इन्टर मियामीले अल हिलालसँग पनि खेल्ने कार्यक्रम रहेको छ । ब्राजिलियन स्टार खेलाडी नेमार हाल अल हिलालबाट ब्यवसायीक फुटबल खेल्छन् ।
तर, ३१ वर्षीय नेमार हाल घाइते अवस्थामा रहेकाले उनी मैदानमा देखा पर्ने छैनन् । यी खेल जनवरी २९ देखि फेब्रुअरी ८ तारिखसम्म सञ्चालन हुने रियाद सिजन कपका क्रममा खेल्न लागिएको हो । इन्टर मियामी र अल हिलालबिचको खेल भने जनवरी २९ तारिखमा हुनेछ ।
साउदी फुटबलमा रोनाल्डोको अल नासर र नेमारको अल हिलाललाई चिरप्रतिद्वन्द्वी क्लबका रुपमा लिइन्छ । यी दुई क्लबबिचको खेल भने फेब्रुअरी ८ तारिखमा खेलिने छ । रियाद सिजन कपमा इन्टर मियामीले आमन्त्रित क्लबका रुपमा सहभागिता जनाउन लागेको हो ।
इन्टर मियामीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पनि हो । मेस्सी साउदी पर्यटनका सदभावना राजदूत पनि हुन् । रियाद सिजन कपका लागि टिकट बिक्री पनि जनवरी १९ तारिखदेखि खुला भइसकेको छ । खासगरी मेस्सीको इन्टर मियामी र रोनाल्डोको अल नासरबिचको खेलको टिकट ब्यापक रुपमा बिक्री भइरहेको छ ।
मेस्सी र रोनाल्डो हालसम्म ३५ पटक एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । यी दुई खेलाडी क्लब र राष्ट्रिय टोलीबाट खेल्दा एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका हुन् । त्यसमध्ये १६ खेलमा मेस्सीको टोली र १० खेलमा रोनाल्डोको टोली विजयी भएका छन् ।
बाँकी नौ खेल भने बराबरीमा सकिएको छ । ती ३५ खेलमा मेस्सीले २१ गोल गरेका छन् भने १२ वटा गोलका लागि पास उपलब्ध गराएका छन् । रोनाल्डोले भने २० गोल गरेका छन् भने एक गोलका लागि पास उपलब्ध गराएका छन् ।
यो खेलका लागि थुप्रै समर्थकले ब्यग्रतापूर्वक प्रतिक्षा गरिरहेको समाचारमा जनाइएको छ । तर, केही सञ्चारमाध्यमले भने पछिल्लो समय रोनाल्डो घाइते अवस्थामा रहेकाले उक्त खेलमा सहभागिता जनाउन सक्नेमा आशंका पनि ब्यक्त गरेका छन् ।
प्रतिक्रिया