फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित

फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित

कहिरन

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा मोहम्मद सलाह चम्किदा लिभरपुलले न्यूक्यासल युनाइटेडमाथि ४–२ गोल अन्तरको शानदार जित निकालेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउनका मोहम्मद सलाहले २ गोल गर्दा कर्टिस जुलियन जोन्स र कोडी म्याथेस गाक्पोले एक-एक गोल थपेका थिए ।

न्यूक्यासलका लागि अलेक्जेन्डर आइज्याक  र स्वेन एड्रियान बोटम्यानले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका हुन् ।

४९ औँ मिनेटमा सलाहले डार्विन गेब्रियल नुनेजको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । अलेक्जेन्डर आइज्याकले ५४ औँ मिनेटमा एन्थोनी गोडोनको पासमा गोल गर्दै न्युक्यासलाई १–१ को बराबरीमा ल्याएका थिए ।

७४ औँ मिनेटमा कर्टिस जुलियन डिएगो जोटाको पासमा  गोल गर्दै २–१ ले लिभरपुललाई अघि बढाएका थिए । ७८ औँ मिनेटमा सलाहको पासमा कोडी म्याथेस गाक्पोले गोल गरेपछि लिभरपुल ३–१ को अवस्थामा पुगेको थियो ।

८१ औँ मिनेटमा सिन डेभिडन लङस्टाफको पासमा एड्रियान बोटम्यानले गोल गर्दै अन्तर ३–२ मा झारेका थिए । तर, ८६ औँ मिनेटमा सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल ४–२ को फराकिलो जित निकाल्न सफल भयो ।

जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ३ अङ्कको अग्रता बनाएको छ । लिभरपुलले २० खेलबाट ४५ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको  एस्टन भिल्लाको समान खेलबाट ४२ अङ्क रहेको छ । लिभरपुलसँग पराजित भएको न्यूक्यासल भने २९ अंकका साथ नवौँ स्थानमा छ ।