क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक गोलकर्ता बन्दै

क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक गोलकर्ता बन्दै

कहिरन

क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक गोलकर्ता बन्दै अन्त्य गर्ने भएका छन् । शनिबार साउदी प्रो लिगमा अल तावोउनविरुद्ध ४–१ को जीत हासिल गर्ने क्रममा गोल गर्दै रोनाल्डोले यो वर्षको ५४ औँ गोल गर्न सफल भएका हुन् ।

पोर्चुगिज फरवार्डले क्लब र देशका लागि औपचारिक प्रतियोगितामा ५४ गोल गरे । योसँगै उनले बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेनका किलियान एम्बाप्पेको ५२ गोल तथा म्यानचेस्टर सिटीका अर्लिङ हालान्डको ५० गोलको आँकडालाई उछिनेका हुन् । अब यीमध्ये कुनै पनि खेलाडीले सन् २०२३ मा अर्को खेल खेल्ने छैनन् ।

रोनाल्डो वर्षको सर्वाधिक गोलकर्ता बनेको यो पाँचौँ पटक हो । यसअघि उनले सन् २०११, २०१३, २०१४ र २०१५ मा रियल मड्रिडमा रहँदा यो उपलब्धि हासिल गरेका छन् । सन् २०१६ पछि उनले यति धेरै गोल गरेको पहिलोपटक हो । त्यतिबेला ५५ गोल गर्दै उनले पाँचौँ बालोन डी’ ओरको उपाधि जितेका थिए ।

३८ वर्षीय खेलाडीले आफ्नो उपलब्धिबारे इन्सटाग्राममा लेखेका छन्, ‘५४..यो कहिले अन्त्य हुन्छ, म भन्नेछु । धन्यवाद टिम !’

रोचक कुरा, उनको पछिल्लो गोल म्यानचेस्टर युनाइटेडबाट विवादास्पद बहिर्गमनपछि साउदी क्लब अल नासरसँग आबद्ध भएको ठ्याक्कै एक वर्षमा आएको हो ।
शनिबारको जीतपछि अल नासर १९ खेलबाट ४६ अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा छ । टोली शीर्ष स्थानमा रहेको अल हिलालभन्दा ७ अङ्कले पछि छ ।