दक्षिण अफ्रिकाले भ्रमणकारी टोली भारतलाई आठ विकेटले पराजित

दक्षिण अफ्रिकाले भ्रमणकारी टोली भारतलाई आठ विकेटले पराजित

कहिरन

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आयोजक राष्ट्र दक्षिण अफ्रिकाले भ्रमणकारी टोली भारतलाई आठ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएपछि शृंखलाको तेस्रो तथा अन्तिम खेल निर्णायक बन्न भएको छ ।

शृंखलाको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको थियो । शृंखलाको तेस्रो खेल बिहीबार खेलिने छ । दोस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले ४६.२ ओभरमा अलआउट हुनुअघि दुई सय ११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले ४२.३ ओभरमा केवल दुई विकेट गुमाएर दुई सय १५ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । दक्षिण अफ्रिकाको जितमा ओपनर ब्याट्सम्यान टोनी डी जर्जीले अविजित एक सय १९ रनको योगदान गरे ।

जर्जीले एक सय २२ बलको सामना गरी ६ छक्का र नौवटा चौका पनि हिर्काए । जर्जी र रिजा हेनड्रिक्सले ओपनिङ विकेटका लागि एक सय ३० रनको साझेदारी गरे । ओपनर रिजाले पनि अर्धसतकीय पोली खेले । उनले ८१ बलमा सात चौकाको मद्दतले ५२ रन बनाए ।

तेस्रो नम्बरका ब्याट्सम्यान रासी भान डर डुसेनले टोलीको खातामा ३६ रन थपे । भारतीय टोलीका बलर अर्सदीप सिंह र रिन्कु सिंहले एक–एक विकेट लिए । त्यसअघि भारतलाई सामान्य स्कोरमा समेट्ने क्रममा दक्षिण अफ्रिकी बलर नान्द्रे बर्गरले तीन विकेट लिए । बेउरन हेनड्रिक्स र केशव महाराजले पनि दुई–दुई विकेट हात पारे ।

भारतीय टोलीका लागि ओपनर ब्याट्सम्यान साई सुदर्शन र कप्तान केएल राहुलले अर्धसतकीय पाली खेले । सुदर्शनले ६२ रन बनाए । उनले ८३ बलमा एक छक्का र सात चौका हिर्काए । राहुलले ५६ रन बटुले । उनले ६४ बलमा सात चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले उल्लेख्य सँख्यामा रन बनाउन सकेनन् ।