रेफ्रीलाई मुक्का हान्ने क्लब अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध

रेफ्रीलाई मुक्का हान्ने क्लब अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध

कहिरन

रेफ्री हालिल उमुट मेलेरलाई मैदानमा मुक्का हान्ने एमकेई अंकारागुकुका अध्यक्ष फारुक कोकालाई स्थायीरुपमा प्रतिबन्ध गरिएको टर्किस फुटबल संघले जानकारी दिएको छ ।

टर्कीको शीर्ष लिगको खेलमा कायकुर रिजेस्पोरसँगको खेलमा टोली बराबरी रोकिएपछि अंकारागुकुका अध्यक्ष कोका मैदानमा प्रवेश गरेर मेलेरमाथि आक्रमण गरेका थिए । घटनाका सम्बन्धमा उनलाई पक्राउ गरिएको थियो । अंकारागुकुलाई २० लाख लिरा जरिवाना तोकिएको छ भने ५ वटा घरेलु मैदानमा हुने खेल समर्थकबिना खेल्नुपर्नेछ ।

सोमबारको यो घटनापछि लिगका खेलहरू स्थगित गरिएका थिए । संघले आगामी मंगलबारदेखि लिगका खेलहरू सुचारु गर्ने निर्णय पनि गरेको छ ।

उक्त घटनामा मेलेरमाथि अन्यले पनि आक्रमण गरेका थिए । उनको शरीरमा विभिन्न भागमा चोट लाग्नुका साथै सामान्य फ्रयाक्चरसमेत भएको थियो । उनको अस्पतालमा उपचार गरिएको थियो ।

३७ वर्षीय मेलेर टर्कीका शीर्ष रेफ्रीमध्ये एक हुन् । उनले फिफाका अन्तर्राष्ट्रिय खेलहरू पनि खेलाउँछन् भने यूईएफएका शीर्ष रेफ्रीहरुमध्ये पनि पर्दछन् ।