यू-१९ एसिया कप: नेपाल अफगानिस्तानसंग पराजित

यू-१९ एसिया कप: नेपाल अफगानिस्तानसंग पराजित


काठमाडौँ । १९ बर्ष मुनिको एसिया कप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकाल्दा नेपाल अफगानिस्तानसंग पराजित भएको छ ।

समुह ए अन्तर्गत भएको दोस्रो खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हराउँदा नेपाल अफगास्तिानसंग ७३ रनले पराजित भएको छ । जितका लागि अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलब १ ओभरमा अलआउट हुँदै १८८ रनमा समेटियो ।

नेपालका लागि अर्जुन कुमालले सर्बाधिक ९१ रनको योगदान गरे । कप्तान देव खनालले २४,गुल्शन झाले १७ तथा दिपक बोहराले १५ रन जोडे पनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि दुबईको आईसीसी एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले ४९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै २६१ रन बनाएको थियो । अफगानिस्तानका लागि जमशीद जद्रानले बिस्फोटक ब्याटिङ गर्दै सर्बाधिक १०६ रनको योगदान गरे ।

आजको हारले नेपालको सेमिफाईनल समिकरण निकै कठिन बनेको छ ।

आजै भएको अर्को खेलमा भारतलाई ८ विकेटले हराउँदै समुह ए को शिर्ष स्थानमा रहेको पाकिस्तानले चार अंक जोडेको छ । जितका लागि भारतले दिएको २६० रनको लक्ष्य पाकिस्तानले ४७ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।

पाकिस्तानको जितमा अजान अवैसले शतकिय पारी खेल्दै सर्बाधिक १०५ रन जोडे । कप्तान साद बैगले ६८ तथा शाहजेब खानले ६३ रनको योगदान गरे । समूह चरणको अन्तिम खेलमा पर्सी मंगलबार नेपालले भारतसंग खेल्नेछ ।