चारदेशीय महिला क्रिकेटमा नेपाल पराजित

चारदेशीय महिला क्रिकेटमा नेपाल पराजित

कहिरन

२९ कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ ।

जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो ।

ओपनर विन्दु रावल खाता नै नखोली पभेलिन फर्केपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न गएकी सम्झना खड्काले पनि खाता खोल्न सकिनन् ।

अर्की ओपनर पूजा महतो टिमको स्कोर ११ रन हुँदा व्यक्तिगत ३ रनमा आउट भइन् ।

चौथो नम्बरमा व्याटिङमा गएकी काजल श्रेष्ठ र पाँचौ नम्बरकी कप्तान बर्माले नेपाली इनिङ सम्हाल्ने कोसिस गरे पनि काजल ९ रनमा आउट भइन् ।

त्यसपछि रुबिना क्षेत्री एक बल पनि फेस गर्न नपाउँदै रन आउट भइन् ।

अनुभवी ब्याटर सीता राना मगरले बर्मासँग १७ रनको साझेदारी गरिन् । बर्मा व्यक्तिगत १५ रनमा आउट भइन् ।

सीता नवौं विकेटका रुपमा टिकको स्कोर ८७ रन हुँदा क्याच आउट भइन् ।

यसअघि पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

तान्जानियाकी हुद्दा ओमरीले २५ तथा आइशा मोहमतले २१ रन बनाइन् ।

बलिङतर्फ नेपालका संगिता राईले २ तथा कप्तान बर्मा, रुबिना क्षेत्री र पूजा महतोले समान १ विकेट लिए ।

प्रतियोगितामा नेपालले भोलि बिहीबार हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।