विश्वकप छनोट खेल्न राष्ट्रिय फुटबल टोली यूएई प्रस्थान

विश्वकप छनोट खेल्न राष्ट्रिय फुटबल टोली यूएई प्रस्थान

कहिरन

काठमाडौँ । राष्ट्रिय फुटबल टोली सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा सहभागी हुन आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेको छ । सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट खेल हो ।

राष्ट्रिय टोलीका दुई प्रभावशाली खेलाडी रोहित चन्द र मनिष डाँगी भने सिधै दुबईमा टोलीमा सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । पछिल्लो समय रोहित इन्डोनेसिया र मनीष बहराइनमा व्यवसायिक फुटबल खेल्छन् ।

नेपाली टोलीले कात्तिक ३० गते युएईसँग दुबईमा ‘अवे’ खेल खेल्दैछ । त्यसपछि नेपालले घरेलु मैदानमा यूएईसँग दोस्रो लेग खेल खेल्नेछ । डिफेन्डर योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र स्ट्राइकर राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ छन् । मिडफिल्डरमा कृतिशरत्न छुन्जु, मनिष डाँगी, लाकेन लिम्बु, उत्सव राई, सेहाङ आङ्देम्बे र निशान हमाल रहेका छन् ।

यसैगरी स्ट्राइकरमा अन्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, संजीव विष्ट र राजेश परियार रहेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय टोलीले लामो समय प्रतियोगिताका लागि तयारी गरेको थियो ।

दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । त्यसपछि नेपालले यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ ।

नेपालले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ । यमनविरुद्धको पहिलो लेग खेल मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने कार्यक्रम छ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ ।

विश्व फुटबल महासंघ(फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा यमन निकै माथि छ । वरीयतामा यमन १५६ औँ र नेपाल १७३ औँ स्थानमा छन् । नेपालको समूहमा यमनका अतिरिक्त संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइन पनि रहेका छन् ।

आफ्नो समूहमा रहेका सबै टोलीले एकअर्कासँग होम एन्ड अवेका आधारमा दुई—दुई खेल खेल्नेछन् । पछिल्लो फिफा वरीयतामा यूएई ६९ औँ र बहराइन ८३ औँ स्थानमा छन् । यस आधारमा आफ्नो समूहमा नेपाल सबैभन्दा कमजोर टोलीको रुपमा देखिन्छ ।

विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपाल दोस्रो चरणको पहिलो खेल युएईसँग खेल्न लागेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक एनेस अहिलेसम्म आफ्ना कुनै पनि खेलाडी घाइते नहुनु सुखद पक्ष रहेको बताउँछन् । उनले प्रतियोगिताको तयारी राम्रो रहेकाले नतिजा सकारात्मक आउने दाबी गरेका छन् ।