रियलले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

रियलले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

कहिरन

आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग गोलरहित बराबरीमा रोकिँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बराबरीपछि रियल अङ्क तालिकाको दोस्रो स्थानमा सीमित बनेको हो । १२ खेलबाट रियलको २९ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको जिरोनाको ३१ अङ्क छ । जिरोनाले शनिबार ओसासुनालाई ४–२ गोलले हराएको थियो ।

रियलका लागि भाल्भर्डे, जोसेलु, जुड बेलिङह्याम र भिनिसि जुनियरले गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । कार्लो एन्चेलोटीको टोलीले विपक्षीको पोस्टमा २२ वटा प्रहार गर्ने पनि गोल भने गर्न सकेनन् ।

रियलको घरेलु मैदानमा भायोकानोले अङ्क बटुलेको सन् २००० पछि पहिलोपटक हो । टोली पछिल्ला ९ खेलमा अपराजित पनि रहेको छ ।

एल क्लासिकोका हिरो खेलको बेलिङह्याम पहिलो हाफमा घाइते भएका थिए । उपचारपछि उनी मैदानमा फर्किए पनि गोल भने गर्न सकेनन् ।