पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित


काठमाडौँ । दक्षिण अफ्रिकाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ ।

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७ दशमलव २ ओभरमा नौ विकेट गुमाउँदै भेट्टायो ।

दक्षिण अफ्रिकाका लागि एडेन मार्क्ररमले ९३ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९१ रनको योगदान गरे । डेविड मिलरले २९, कप्तान टेम्बा बाभुमाले २८, क्विनटन डिककले २४, रस्सी भान डेर डुसेनले २१, मार्को जेनसनले २०, हेनरिच क्लासेनले १२, जेराल्ड कोएटजीले १० रन बनाए ।

मार्क्ररमले पाँचौं विकेटका लागि मिलरसँग ७० र तेस्रो विकेटका लागि डुसनसँग ५४ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन तथा हरिस रौफ, मोहम्मद वसिम र उस्मा मिरले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७० रन बनाएको थियो ।

पाँचौं जितसँगै ६ खेलमा १० अंक जोडेको दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । चौथो पराजय व्यहोरेको पाकिस्तान समान खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।