क्रिकेटमा नेपालको फड्को, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने

क्रिकेटमा नेपालको फड्को, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने

कहिरन समाचार

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । टियु मैदानमा भएको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । गुलसनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरेका थिए । भीमले ७२ बलमा ३६ रनमा अविजित रहेका थिए ।

सुरुआत राम्रो हुन नसकेको नेपालका दुवै ओपनर सस्तैमा आउट भएका थिए । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा रोहन मुस्तफाले एलबीडब्लु धरापमा पारे ।

अर्का ओपनर आसिफ शेखले आयान खानको बलमा ८ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल रोहन मुस्तफाको बलमा १ रनमा बोल्ड आउट भए ।

युएईका लागि रोहन मुस्तफाले २ तथा आयान खानले १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो ।

रोकिएको स्थितीबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो । नेपालका लागि ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए ।

युएई ३३.१ ओभरमा १० विकेट गुमाएर १ सय १७ रन बनायो ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए ।

ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।

एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।

समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।