ओजिलले मात्र ३४ वर्षको उमेरमा फुटबलबाट सन्यासको घोषणा

ओजिलले मात्र ३४ वर्षको उमेरमा फुटबलबाट सन्यासको घोषणा

कहिरन समाचार

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले मात्र ३४ वर्षको उमेरमा सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल र रियल मड्रिडका पूर्व खेलाडीले क्लब करियरका दौरान नौवटा उपाधि जितेका थिए जसमा चारवटा एफए कप तथा सन् २०१२ को स्पेनिस ला लिगाको उपाधि समावेश छ ।

जमर्नीका लागि ९२ खेल खेलेका ओजिल सन् २०१४ को विश्वविजेता टोलीका सदस्य थिए । ओजिलले आफ्नो करियर साल्के र वेर्डर ब्रेमनबाट सुरु गरेका थिए । सन् २०१० मा उनी रियल आबद्ध भएका थिए जहाँ उनले ला लिगासहित कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेका थिए ।

सन् २०१३ मा उनी त्यतिबेला क्लबको कीर्तिमानी ४.२४ करोड पाउन्डमा आर्सनलसँग अनुबन्ध भए । आर्सनलमा उनले लगातार दुईवटा एफएकपको उपाधि जिते । तेस्रो सिजनमा उनी सिजनको उत्कृष्ट खेलाडी घोषित भएका थिए । सन् २०१७ मा उनले पुनः एफएकपको उपाधि जिते ।

सन् २०१८ मा उनी क्लबको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बने । तर, नयाँ प्रशिक्षक उनाई एम्रेको रोजाईमा पर्न सकेनन् । सन् २०२१ मा उनी फेबरबाचेसँग आबद्ध भए भने सन् २०२२ मा उनी इस्तानबुल बासाक्सेरसँग अनुबन्ध भए । तर, चोटका कारण उनले धेरै खेल खेल्न पाएनन् ।

अन्तर्राष्ट्रियस्तरमा ओजिललाई जर्मनी वा टर्कीमध्ये एक रोझ्ने अवसर थियो तर उनले जर्मनी चुने । सन् २०२१ मा युरोपियन यू–२१ च्याम्पियनसीपको फाइनलमा जर्मनीले इंग्ल्याण्डलाई हराउँदा उनी म्यान अफ द म्याच चुनिएका थिए । उनी पाँचपटक जर्मनीको वर्ष खेलाडी चुनिएका थिए । तर रंगभेद र अपमानको आरोप लगाउँदै उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए । टर्कीका राष्ट्रपति रेसप तैयप अर्दोगानसँग तस्बिर खिचेको पाइएपछि उनको जर्मनीमा आलोचना सुरु भएको थियो ।