काठमाडौँ । नेपालले आईसीसीको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राखेको छ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत आइतबार युएईलाई पराजित गर्दै नेपालले २ खेल अगाबै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राखेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो ।
युएईका लागि आयान खानले २९ रनको सर्वाधिक ठुलो ईनिङ खेल्दा असओन्था भाल्थापाले १४ रन बनाए । कार्तिक मैयप्पनले ११ तथा युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि ललित नारायण राजवंशीले ५ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदै २ सय ४८ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान पौडेलले ९ चौका प्रहार गरेका थिए ।
दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए । भिम सार्कीले ३७ बलमा २९ रन बनाए ।
युएईका लागि जाहोर फरिद,जाहोर खान,रोहन मुस्ताफा र आयान खानले समान २/२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान १/१ विकेट लिए ।
हारपछि विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएईको एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोखिममा परेको छ ।
सात देश सम्मिलित विश्वकप लिग टूमा नेपालले ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको छ । युएई ३४ खेलमा १४ खेलमा जित तथा १७ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया