आशिफको शतकमा पीएनजीविरुद्ध नेपालले दियो २९८ रनको लक्ष्य

आशिफको शतकमा पीएनजीविरुद्ध नेपालले दियो २९८ रनको लक्ष्य

कहिरन समाचार

काठमाडौँ । आशिफ शेखको शतकमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले २९८ रनको लक्ष्य दिएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४९ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको छ । यो नेपालको अहिलेसम्मकै उच्च स्कोर हो ।

यसअघि नेपालको पहिलो इनिङमा सबैभन्दा बढी २८७ रन बनाएको थियो । गत फेब्रुअरीमा त्रिवि मैदानमै भएको खेलमा नेपालले नामिबिया विरुद्धको खेलमा २८७ रन बनाएको थियो ।

नेपालका लागि शेखले पहिलो शतक प्रहार गरे । उनले ११० बलमा ११० रन बनाए । जसमा १२ चौका दुई छक्का समावेश छन् । यसअघि उनको उच्च स्कोर ९० रन थियो ।

यससँगै उनले एकदिवसीय खेलमा एक हजार रन पूरा गरेका छन् । उनले ३२ खेलमा एक हजार २० रन बनाएका छन् ।

त्यस्तै, नेपालका लागि कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, रोहित पौडेलले ३०, आरिफ शेखले १५ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

पपुवा न्युगिनीका लागि सेमो कमियाले चार, रिले हेकुरले तीन र अलेइ नावले एक विकेट लिए ।