आइओएममा आन्दोलनरत विद्यार्थीमाथि लाठी प्रहार

आइओएममा आन्दोलनरत विद्यार्थीमाथि लाठी प्रहार

कहिरन समाचार

आन्दोलनरत चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा धर्ना दिन पुगेका विद्यार्थीहरूमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

प्रहरीको लाठी लागेर आधा दर्जन विद्यार्थी घाइते भएका छन् । उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । डीनको कार्यालयले बेरियरमा परेका विद्यार्थीहरूका विषयमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम थियो ।

त्यसका लागि कर्मचारीहरू डीनको कार्य कक्षमा बसेका थिए । तर, गेटमा ताला लगाइएको थियो । विद्यार्थीहरूले बैठकमा आफूहरूले समेत जान पाउनुपर्ने माग राख्दा प्रहरीले गेटमा ताला लगाएर राखेको थियो ।

विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरूमाथि कुटपिट गर्न थालेको हो । आन्दोलन गर्दै हिडेका विद्यार्थीहरूलाई समाती समाती प्रहरीले कुटपिट गरेको विद्यार्थीहरूको भनाई छ ।

प्रहरीको कुटपिटबाट कतिपय विद्यार्थीको टाउँकोमा चोट लागेको छ भने कतिपयको शरीरभर निलडाम देखिएका छन् ।

चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न मागहरू राखेर विद्यार्थीहरू लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । तर, डीनको कार्यालयले विद्यार्थीका माग सुनुवाइ गर्नुको साटो प्रहरी बोलाएर उनीहरूको आन्दोलन निस्तेज पार्न खोज्दै आएको छ । विद्यार्थीहरूले बिहीबार संस्थानकी डीन प्रा.डा. दिव्या सिंहको पुत्ला नै जलाएका थिए ।

दोस्रो वर्षको बेरियर सम्बन्धी मागको निर्णय गर्न ढिलाइ भएपछि विद्यार्थीहरू आन्दोलन गर्दै आएका छन् । उनीहरू डीन सिंहको राजीनामा समेत माग गर्दै आएका छन् ।

डीनको कार्यालयले दोस्रो वर्षको बेरियरमा परेका विद्यार्थीहरू परीक्षा दिन पाउनेगरी व्यवस्था गर्ने गरी विद्यार्थीहरूसँग सहमति गरेको थियो । गत भदौमा १५ दिनभित्रमा अध्ययन गरेर अघि बढ्ने सहमति गरेपनि हालसम्म कुनै निर्णय डीनको कार्यालयले गर्न सकेको छैन ।