सिलवाल : विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको बीमामा समस्या छैन

सिलवाल : विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको बीमामा समस्या छैन

कहिरन समाचार

राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने तथा चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले जानकारी दिए।

सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा पाटोमा कुनै समस्या नरहेको स्पष्ट पारे।

‘बीमाको पाटोमा समस्या छैन। त्योदेखि बाहेक कसरी यसलाई स्मुथ बनाउने, आफन्तहरू पीडामा हुनुहुन्छ, उहाँहरुलाई कसरी सहजीकरण गर्ने भन्ने बारेमा सरकारका विभिन्न निकायहरुले के सहयोग पुर्‍यायाउनुपर्छ भन्ने बारेमा छलफल भयो र त्यही निर्णय भयो’, उनले भने, ‘विदेशी शवहरू पनि कलेक्शन गर्नुपर्‍यो। ल्याएर त्यसको पोष्टमार्टम गर्नुपर्‍यो। त्यसलाई विदेश पठाउने व्यवस्था गर्नुपर्‍यो। कसरी त्यसलाई सहजीकरण गर्ने तिनै कुराहरु भयो।’

बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता थियो।

आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट करिब २ किलोमिटरको नजिक सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो।

उक्त विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।