सप्तकोसी पीडितको उद्धार कार्य जारी

सप्तकोसी पीडितको उद्धार कार्य जारी

कहिरन समाचार

कोसी प्रभावित क्षेत्रमा उद्धार कार्य बिहीबार बिहानैबाट सुरू गरिएको छ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।

प्रजिअ यादवका अनुसार प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएको र उद्धार तथा राहत बिहानैबाट जारी रहेको छ।

‘बाढीमा फसेकाहरूको उद्धार कार्य बिहानैबाट जारी रहेको छ। साँझसम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिन्छ’, प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले भने, ‘उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन्।’

बुधबार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन। उद्धार गरिएका घर परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिने प्रजिअ यादवले बताए।

लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोशीको तटबन्ध फुट्दा नदी गाउँतिर सोझिएको थियो।

यसले बेलका नगरका पाँच वटा वडा र सुनसरी बराहक्षेत्रका दुई वटा वडा सोहोर्‍यो। बेलकाका वडा नम्बर १, २, ३, ८ र ९ अनि बराहक्षेत्रका वडा ९ र ६ का हजारौं बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्।

प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्।

उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्।

सुनसरीको श्रीलंका टापूमा फसेका ५०० परिवारका सदस्य भने अहिलेसम्म गाउँमै छन्। उनीहरू अग्लो ठाउँमा भएकाले आफूहरू सुरक्षित रहेको बताइरहेका छन्।

स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरूलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि परेको छ । रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेकोछ ।

बेलका नगर प्रमुख अशोक कार्कीका अनुसार बेलैमा उद्धार कार्य थालिएकोले मानवीय क्षती भएको छैन। मोटरबोट, प्लाष्टिकको डुङ्गा, ट्याक्टर र सुरक्षाकर्मीको सवारी साधन उद्धारमा प्रयोग भएका छन्।

उच्च जोखिम भएपनि कतिपय घरपरिवार सुरक्षित स्थान सर्न मानेका छैनन् । रासोबासो छाड्ने नमानेका उनीहरू जेखिम मोलेरै भएपनि बस्ने अडान कस्ने गरेपछि  उनीहरूलाई सम्झाई बुझाई सार्न जनप्रतिनधि र सुरक्षाकर्मीले कसरत गर्नु परेको छ ।