थारू समुदायले सोमबार माघी पर्व मनाउँदै

थारू समुदायले सोमबार माघी पर्व मनाउँदै

कहिरन

थारू समुदायले सोमबार माघी पर्व मनाउँदैछन्।

अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे। माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो। जसका कारण माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको हो। थारू समुदायले माघी माघ महिनाभर मनाउँछन्।

माघी पर्व यस वर्ष पनि काठमाडौंमा विशेष रूपमा मनाइने भएको छ। तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकामा पनि रौनक ल्याउँछ। विगतमा जस्तै यस वर्ष पनि थारू अगुवाले टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव आयोजना गरेका छन् ।

विशेष गरी थारू समुदायले मनाउने यो पर्वमा पछिल्लो समय जातजाति पनि आकर्षित भएको पाइन्छ। माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी पनि आकर्षित भएका छन्। माघीमा विशेषतः ढिक्री, घोंगी, माछा र गँगटा जस्ता परिकार खाने चलन छ।

यस वर्ष माघी पर्व पुस २९ र आगामी माघ १ गते मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताएका छन्।

कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेको बताए। टुँडिखेलमा माघीका अवसरमा खानाको स्टल करिब एक सय १५ कक्ष रहेको महामन्त्री चौधरीले बताए।

‘सोमबार बिहान वसन्तपुरबाट झाँकी र्‍याली सुरू भई टुँडिखेल आउनेछ। महोत्सवमा मेची–महाकालीको थारूको नाचगान प्रस्तुति रहने छ,’ उनले भने।

सरकारले २०६३ सालदेखि माघीलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय सकारात्मक भएको महामन्त्री चौधरीले बताए।

विसं २०५९ देखि २०६२ सालसम्म थारूलाई मात्र बिदा दिने गरिएकोमा २०६३ सालबाट राष्ट्रिय पर्वका रुपमै मनाउने गरिएको हो,’ उनले भने।

लेखक तथा पत्रकार कृष्ण सर्वाहारीले माघीका अवसरमा बरघर (गाउँको मुखिया) छान्ने प्रचलनलाई काठमाडौंमा पनि लागू गर्नुपर्ने धारणा राखे।

‘माघी पर्वका अवसरमा बरघर छान्ने प्रचलनलाई काठमाडौँमा पनि आफ्नो गाउँघरका लागि के योगदान गर्न सकिन्छ भन्नेमा छलफल हुन जरुरी छ,’ उनले भने।

उनले थारूका मुख्य परिकारहरु ढिक्री, घोँघी, महुवाको जाँडजस्ता परिकारलाई प्रवर्द्धनको आवश्यकता औंल्याए।

पूर्वमन्त्री गोपाल दहितले २०५९ सालदेखि काठमाडौंका थारूलाई लक्षित गरी माघी पर्व महोत्सव गर्न लागिएको बताए।

उनले माघीमा ‘मघौटा नाच’ नाच्ने र चिसो मौसमबाट बच्न सकिने खानेकुरा खाने गरेको बताए। पहिले गाउँघरमा मात्रै सीमित माघी पर्व अहिले सहरहुँदै विदेशमा समेत पुगेकोमा उनले खुसी व्यक्त गरे।

पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, कतारजस्ता देशमा पनि त्यहाँ रहेका थारूले माघी पर्व मनाउन थालेको पूर्वमन्त्री दहितको भनाइ छ।  “पहिला थारूहरूले घोँगी खान लाज मान्थे तर अहिले काठमाडौंको हरेक होटलमा घोँगी परिकार राखिएको हुन्छ, यो सबैभन्दा धेरै बेचिने परिकार बनेको छ, यसको मुख्य कारण माघी महोत्सवको आयोजना नै हो, उनले भने।