म्यानमार पुर्‍याएर बन्धक बनाएर काम लगाएको आरोपमा एक जना पक्राउ

म्यानमार पुर्‍याएर बन्धक बनाएर काम लगाएको आरोपमा एक जना पक्राउ

कहिरन

म्यानमार पुर्‍याएर बन्धक बनाएर अनलाइन स्क्यामको काममा लगाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

गोरखा धार्चे गाउँपालिका-४ की २७ वर्षीया कविता गुरूङलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

थाइल्यान्डमा अंग्रेजी टाइपिङको काम हुने र मासिक एक लाख बढी कमाइ हुने, खाने-बस्ने व्यवस्था हुने भन्दै दुई जनालाई झुक्याएर म्यानमारसम्म पुर्‍याएको प्रहरीले जनाएको छ।

दुई जना पीडितलाई बिजनेस भिसामा म्यानमारको म्यावडीस्थित चिनियाँहरूले सञ्चालन गर्ने कम्पनीमा पुर्‍याएको पाइएको हो।

त्यहाँ बन्धक बनाएर १८-२० घण्टासम्म काममा खटाएर दास बनाएको एसपी पंगेनीले बताए।

त्‍यसबापत गुरूङले दुई लाख ६० हजार रुपैयाँ समेत लिएको अनुसन्धानबाट खुलेको छ। कम्पनीमा कामदारहरूले अमेरिकी नागरिकहरूलाई ठगेर पैसा असुली गर्ने काम दिने गरेको प्रहरीले जनाएको छ।

क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाउने, लभ ट्र्यापमा पारेर पैसा असुली गर्ने जस्ता कामहरू गर्न लगाएको पाइएको छ। यसरी काम गर्दा लक्ष्यअनुसारको पैसा असुली गर्न नसकेमा यातना दिने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ।

कतिपयलाई करेन्ट समेत लगाउने गरेको पाइएको छ। त्यहाँबाट फर्किन खोज्दा पनि चिनियाँहरूले ८-९ लाख रुपैयाँ तिर्न बाध्य बनाएको ब्युरोले जनाएको छ।

पक्राउ परेकी कवितामाथि अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ। गत शुक्रबार मात्रै ब्युरोले यसमा संलग्न एक पुरूषलाई पक्राउ गरेको थियो।