नेपालीलाई रूसी सेनामा पठाउने १२ जना पक्राउ

नेपालीलाई रूसी सेनामा पठाउने १२ जना पक्राउ


काठमाडौँ । नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी लगायत गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकाहरुले सामाजिक सञ्जाल मार्फत विज्ञापन गरेर नेपाली युवालाई रोजगारीको प्रलोभनमा पारि उनीहरुले यूएई हुँदै रुससम्म लैजाने गरेको पाइएको छ । उनीहरुको प्रारम्भिक बयानका आधारमा नेपाली युवालाई यूएई हुँदै रुसमा लैजाने गरेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

प्रहरीका अनुसार, नेपाली युवालाई भिजिट भिसामा त्यहाँ लगिएको पाइएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो (एएचटीबी) ले पनि यो मामलामा ‘जानकारीमा राखेको’ बताएको छ ।

रुसी सेनामा भर्ती भएका ६ जना मारिएको जानकारी आएपछि सरकारले सेनामा रहेका नेपालीहरुलाई तत्काल फिर्ता पठाउन र रुसी सेनामा नेपालीलाई नलिन कूटनीतिक नोट पठाएको छ ।