वृद्धाको हत्या गरेको आरोपमा तीन जना पक्राउ

वृद्धाको हत्या गरेको आरोपमा तीन जना पक्राउ

कहिरन

धादिङमा एक जना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले तीन जना पुरूषलाई पक्राउ गरेको छ।

त्रिपुरासुन्दरी गाउँपालिका-६ गोलाङमा बस्ने ६२ वर्षीया मनकुमारी सार्किनीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोलाङकै ४० वर्षीय शिवबहादुर बस्याल, ५४ वर्षीय टोपबहादुर सार्की र ४०  वर्षीय सुनिल नेपाली छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्र अनुसार गत शुक्रबार बिहान साढे ९ बजे मनकुमारी आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनी उक्त घरमा आफ्ना श्रीमानसँग बस्दै आएकी थिइन्। श्रीमान प्यारालाइसिसका बिरामी हुन्।

मनकुमारीको मृत्यु सामान्य तरिकाले नै भएको भन्ने अनुमान आफन्त छिमेकीहरूको थियो। उनको मृत्यु भएको भन्ने खबर पाएर घटनास्थलमा खटिएपछि शंका लागेको एसपी मिश्रले बताए।

‘घाँटी र अनुहारमा कोतरेको र थिचेको जस्तो देखिन्थ्यो। त्यसपछि हत्या हुनसक्छ भनेर अनुसन्धान अघि बढायौं,’ एसपी मिश्रले भने।

घटनास्थलमा चुरा फुटेका टुक्रा र पोतेका दानाहरू पनि छरपष्ट थिए।

प्रहरीले मृतकका श्रीमानसँग सोधपुछ गर्दा अघिल्लो दिन एक जना पुरूष आएको बताएका थिए। उनी शिवकुमार बस्याल थिए।