बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान

बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान

कहिरन समाचार

बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ।

सो क्रममा प्रहरीले २ जना डाँकालाई नियन्त्रणमा लिएको छ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको थियो।

गए राति करिब १ बजेतिर ११ जनाको डाँका समूह एरोटेक प्रालि पुगेका थिए। इला प्रहरी कार्यालय जितपुरका एसपी कमलबहादुर शाहीको कमाण्डमा डाँका समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेको थियो।

डाँका समूहलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको थियो। डाँका समूहको तर्फबाट एक राउण्ड गोली प्रहार भएको थियो।

प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको प्रहरी नायब उपरीक्षक रामकाजी थापाले बताए। डाँका समूहले वरिष्ठ सईको टाउकोमा रड प्रहार गरी घाइते बनाएका छन्। उनको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको र अवस्ता खतरामुक्त छ।

घटनास्थलबाट एक थान बन्दुक र त्यसमा लाग्ने तीन वटा गोली र एकथान एकनाले बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

डाँका समूहका दुईजना पक्राउ परेका छन्। जितपुर सिमरा उपमहानगरपालिका ९ बस्ने ३५ वर्षीय जयराम पासवान र सोही पालिका वडा नम्बर १० बस्ने ४० वर्षीय जवाहिर महतो पक्राउ परेका हुन्।

प्रहरीसँग झडपको क्रममा महतो घाइते भएको र उनको अल्पाईन अस्पाताल सिमरामा उपचार भइरहेको छ।

फरार भएका अन्य ९ जना डाँकाहरुको खोजी कार्य जारी रहेको उनले बताए।