बडा दशैको चौंथो दिन, कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै

बडा दशैको चौंथो दिन, कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै

कहिरन

बडा दशैको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा आराधना गरिंदैछ ।

यो दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गर्ने गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डा देवीलाइ उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीत रक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ।

यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो ताप शक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवी भागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ। माता दुर्गाका नौवटा रुपलाई नवदुर्गा भन्ने गरिन्छ । घटस्थापनाका दिनदेखि बडादशैं शुरु हुन्छ । घटस्थापनादेखि नवमीको दिनसम्मलाई नवरात्र पनि भन्ने गरिएको छ ।

घटस्थापना गरेसँगै नवदुर्गाका नौवटा रूपहरूको पूजा गर्ने परम्परा छ । घटस्थापनाको दिनदेखि बडादशै शुरु भएको मानिन्छ । घटस्थापनादेखि बिजया दशमीको अघिल्लो दिनसम्मको नौ दिनलाई नवरात्र भन्ने चलन पनि छ । नौ दिनमा नवदुर्गाको बिभिन्न रुप अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।