पूर्वप्रमुख पौडेल आफ्नै घरमा मृत फेला

पूर्वप्रमुख पौडेल आफ्नै घरमा मृत फेला

कहिरन

जीतपुरसिमराका पूर्वप्रमुख कृष्ण पौडेल आफ्नै घरमा मृत फेला परेका छन्।

नेकपा (एमाले)का मधेस प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल बिहीबार साँझ ७ बजे घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए।

डिएसपी न्यौपानेका अनुसार कृष्ण पौडेल घरभित्रै मृत छन् भनेर दिउँसै इलाका प्रहरी कार्यालय सिमराको टोलीले खबर गरेको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालयको टोली पुग्दा पौडेल घरभित्र उनी सुत्ने कोठाको भुइँमा लडिरहेको अवस्थामा फेला परेका हुन्।

‘हामी हिजो साँझ ७ बजे घरमा पुगेका थियौं। उनको शव कोठाको भुइँमा ढलेको अवस्थामा फेला परेको हो,’ न्यौपानेले  भने।

पौडेलेको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको न्यौपानेले बताए।

घरमै शव फेला परेपछि प्रहरीले उनको परिवारसँग पनि सोधपुछ गरेको बताएको छ। तर, त्यस्तो शंकास्पद केही पनि नदेखिएको प्रहरीले बताएको छ।

पौडेल २०७४ को निर्वाचनमा जीतपुरसिमरा नगरपालिका प्रमुखमा निर्वाचित भएका पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई पराजित गरेका थिए। उनी सहकारी अभियन्तासमेत हुन्। उनी हातेमालो बचत तथा ऋण सहकारी संस्था सीमराका अध्यक्षसमेत थिए।

एमाले मधेस प्रदेश कमिटीको सचिव भए पनि जारी पहिलो अधिवेशनमा उनी सहभागी भएका थिएनन्।

‘उहाँ १२–१५ वटा बैठकमा उपस्थित हुनुभएको थिएन। पछिल्लो समय डिप्रेसनले गाँजेर औषधि खाँदै आउनुभएको भनेर परिवारले बताएपछि उहाँलाई हटाइएको थिएन। निको भएर पार्टी काममा क्रियाशील हुने विश्वास थियो,’ मधेस कमिटीकी निवर्तमान उपसचिव आरती भण्डारीले भनिन्, ‘तर, हिजै अप्रिय खबर सुन्नुपर्‍यो।’ उनले पौडेल मंगलबारदेखि नै परिवारको सम्पर्कमा नरहेको बताइन्।

‘बाहिरबाट चेन गेट लगाएको र भित्र कोठामा उहाँको शव भुइँमा लडिरहेको अवस्थामा फेला प¥यो। कसरी मृत्यु भयो पोष्टमार्टमपछि खुल्ला, हामीले एउटा सहकर्मी, सहकारी आन्दोलनका हर्ताकर्ता गुमायौं,’ उनले भनिन्।

पौडेलका श्रीमती, एक छोरा र छोरी छन्। उनी केही दिनदेखि घरमा एक्लै रहेको पनि खुलेको छ।